Prakash Adhikari May 12, 2020

काठमाडौं, ३० बैशाख । नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

मङ्गलवार दिउँसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार बारा,  पर्सा र कपिलवस्तुमा संकलन गरिएको नमूना काठमाडौंमा परीक्षण गर्दा ती सङ्क्रमण पुष्टि भएको हो।

अब नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १ सय ९१ पुगेको छ।

मन्त्रालयका अनुसार पर्सा जिल्लाका ३९ जना, रूपन्देही जिल्लाका ९ जना, कपिलवस्तु जिल्लाका ८ जना र बाराका एक जनामा कोभिड १९ देखिएको हो।

मङ्गलवार सङ्क्रमण पुष्टि भएका सबै पुरुष भएको मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ।

सीमावर्ती जिल्लामा सङ्क्रमण धेरै

भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

सोमवार २४ जनामा कोभिड १९ पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलवार अपराह्णसम्म नेपालमा कुल १७ हजार ८ सय ७८ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने १ सय ५३ जना आइसोलेशनमा छन्।

स्व‍ीस र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोगस्वरूप दिएसँगै परीक्षणले तीव्रता पाएको छ।


नेपालमा कोरोनाभाइरस सङ्क्रमण
कुन जिल्लामा कति सङ्क्रमित

जिल्ला सङ्क्रमण सङ्ख्या
पर्सा                            ६४
उदयपुर                      ३२
कपिलवस्तु                २९
बाँके                           २४
रूपन्देही                    १६
कैलाली                      ४
काठमाण्डू                  ३
रौतहट                       ३
बारा                           ३
बाग्लुङ                      २

चितवन                     २
झापा                         २
बर्दिया                       १
भोजपुर                     १
कञ्चनपुर                 १
सप्तरी                      १
धनुषा                       १
धादिङ                      १
सर्लाही                      १
स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय


अहिलेसम्म ३३ जना निको भएर अस्पतालबाट बिदा भएको बताइएको छ।

तर पुनः परीक्षण गर्दा निको भएका भनिएकामध्ये तीन जनाको शरीरमा कोरोनाभाइरस देखिएपछि उनीहरूलाई फेरि अस्पतालमा भर्ना गरिएको छ।

Share Now

Leave a comment.