Prakash Adhikari May 16, 2020

काठमाडौं, ३ जेठ । कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

उनी सिन्धुपाल्चोककी सुत्केरी महिला हुन्।

कोभिड-१९ का कारण नेपालमा पुष्टि भएको यो पहिलो मृत्यु हो। उनी केही दिनअघि मात्र काठमाडौंस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएकी थिइन्।

घर फर्किएपछि ती महिला बिरामी परेकी र उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको बताइएको छ।

मन्त्रालयले शनिवार साँझ थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको छ। योसहित शनिवार साँझसम्म १३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

अब कुल सङ्क्रमितको सङ्ख्या २ सय ८१ पुगेको छ। कोभिड-१९ पुष्टि भएकामध्ये ३६ निको भएका छन्।

नेपालमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएको करिब चार महिनापछि कोरोनाभाइरसकै कारण कसैको मृत्यु भएको यो पहिलो पटक हो।

कोरोनाभाइरस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा सिन्धुपाल्चोक निवासी ती २९ वर्षीया महिला काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएको र त्यसको भोलिपल्ट बच्चा जन्माएर वैशाख २५ गते घर फर्किएको उल्लेख छ।

‘ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ’, विज्ञप्तिमा भनिएको छ।

‘यस सम्बन्धमा विस्तृत विवरण लिइएको र कोभिड-१९ सँग सम्बन्धित थप परीक्षणपश्चात् नेपालमा कोभिड(१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ।’

अधिकारीका अनुसार साँझ पुष्टि भएका दुई सङ्क्रमित धनुषाका हुन्।

मन्त्रालयका अनुसार शनिवार कपिलवस्तु, महोत्तरी, धनुषा, बर्दिया, सिराहा, सर्लाही, चितवन र काभ्रेका मानिसमा सङ्क्रमण देखिएको हो।

शुक्रवार १८ जना सङ्क्रमित फेला परेका थिए।

कहाँ कति सङ्क्रमित
अहिलेसम्म २६ जिल्लामा सङ्क्रमण भेटिएको छ। तर कर्णाली प्रदेशमा कतै पनि कोभिड(१९ पुष्टि भएको छैन।

स्वाब
अहिलेसम्म प्रदेश नं २ मा १सय १० र प्रदेश नं ५ मा १ सय ९ सङ्क्रमित फेला परेका छन्।

प्रदेश नं ५ मा सङ्क्रमण पुष्टि भएका सबै जना अहिले आइसोलेशनमा छन् भने प्रदेश नं २ मा केही व्यक्ति निको भएर अस्पतालबाट फर्किएका छन्।

सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ३६ जनामा, वाग्मती प्रदेशका १७, गण्डकी प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका पाँच जना छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिवार अपराह्णसम्म १६हजार ३ सय ६६ व्यक्ति देशका विभिन्न स्थानमा क्वारेन्टाइनमा छन्।

तीमध्ये प्रदेश नं ५ मा सबैभन्दा धेरै १० हजार २ सय २२ जना र वाग्मती प्रदेशमा सबैभन्दा कम २ सय जना छन्।

मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म पीसीआर विधिवाट जम्मा २६ हजार ६ सय ९१ वटा र आरडीटी विधिबाट ६५ हजार ७ सय ४९ वटा परीक्षण गरिएको छ।

अहिले काठमाडौं उपत्यकामा ३२ जनासहित देशभरि कुल ३सय २० जना आइसोलशनमा छन्। यो सङ्क्रमित र सम्भावित व्यक्तिसहितको सङ्ख्या भएको मन्त्रालयले जनाएको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.