Prakash Adhikari May 22, 2020

 

काठमाडौं, ९ जेठ। प्रधानमन्त्री के.पी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकार देश र जनताको हितलाई एकसाथ लैजान असमर्थ देखिएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको निशाना छापमा हालै सरकारले सार्वजनिक गरेको लिपुलेक,कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा समावेश गर्न संविधानको संशोधनको विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । तर, स्वदेशमा रोजगारीको अभावले छिमेकी मुलुक भारत र अन्य मुलुकहरुका पुगेका नेपालीहरु रोजगारदाता मुलुकका रोजगारदाताले कोरोना संक्रमणको कारण कामबाट निष्कासन गरेपछि संबधित मुलुकमा अलपत्र परेका तथा छिमेकी भारतका विभिन्न राज्यबाट नेपालको सीमा नाकासम्म आइपुगेका नागरिकलाई स्वदेश प्रवेश गराई नियमित स्वास्थ्य जाँचबाट सुरक्षित राख्ने बिषयमा भने सरकारले कुनै निर्णय गर्न सकेन ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरिसकेको छ ।

भारतमा रहेका र सीमानाकासम्म आइपुगेका नेपालीहरुलाई स्वदेश भित्रिन दिन उच्चस्तरीय समितिले सरकारलाई सिफारिस गरिसकेको छ । सो समितिले भारतीय सीमाका २० वटा प्वाइन्टबाट नेपालीलाई प्रवेश गर्न दिने, उनीहरू सबैको रेकर्ड राख्ने र क्वारेन्टाइनमा राखेर आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने अनि नेगेटिभ रिपोर्ट आएकाहरूलाई सम्बन्धित पालिकाहरूमा पठाउने सुझाव दिएको थियो ।

त्यसरी जाँच गर्दा पोजेटिभ रिपोर्ट आएकालाई आइसोलेसनमा राख्नेगरी व्यवस्थापन गर्ने प्रस्ताव अघिल्लो क्याबिनेटमै उच्चतरीय समितिबाट गइसकेको थियो। सीमापारिका नेपालीबारे पटकपटक छलफल भएको बताइए पनि अहिलेसम्म सीमा क्षेत्रको आवागमन व्यवस्थित हुन सकेको छैन ।

भारतले रेल्वे सेवा सञ्चालन गरेपछि भारतका विभिन्न राज्यमा कामकालागि पुगेका नेपालीहरु घर फर्कन थालेका छन् । सरकारले सहज निर्णय गरेर स्वास्थ्य परीक्षणपछि संबन्धित गाउँ तथा नगरमा जान दिने व्यवस्था नमिलाएकोले सीमा क्षेत्रमा आएका नेपालीहरु कोरोना जाँच नगरी सीमाको चोरबाटोबाट घर आउने क्रम बढ्दो छ ।

बढी राष्ट्रवादी बन्ने होडमा ओली सरकारले जनताका मुद्दा छायाँमा पार्न सक्ने खतरा बढ्दै गएको छ । भारतले रेल्वे सेवा सञ्चालन गरेपछि भारतमा रहेका नेपालीहरु सीमा नाकामा आइपुग्ने क्रम बढ्दै गएको छ । उनीहरुको उचित व्यवस्थापनको शीघ्र निर्णय नहुँदा तिनीहरु सबै कोरोनाको उच्च जोखिमका पर्ने र तिनीहरु आफ्नो घरबारमा पुगेपछि त्यस्तो जोखिम देशभर पर्न सक्ने विज्ञहरु बताउछन् ।

Share Now

Leave a comment.