Prakash Adhikari May 22, 2020

कराची,(पाकिस्तान), ९ जेठ। पाकिस्तानको कराचीमा एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्।

पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको उक्त विमान लाहोरबाट आएको र कराची विमानस्थलनजिकै दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको छ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो।

ए-३२० मोडेलको सो विमानमा ९० जना यात्रु र चालक  दलका ८ जना सवार रहेको रहेको पीआईएका प्रवक्ता अब्दुल सत्तारले बताएको डनले लेखेको छ।

त्यहाँका सञ्चारमाध्यममा आएका भिडियो दुर्घटनास्थलका फुटेजहरुमा धुँवाको मुस्लो आइरहेको र एम्बुलेन्स तथा उद्दारकर्ताहरु पुग्दै गरेको देखाइएको छ।

दुर्घटनासँगै त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रीले त्यहाँका प्रमुख अस्पतालमा आपतकाल घोषणा गर्दै उपचारका लागि तयार रहन निर्देशन दिएका छन्।

दुर्घटनास्थल मानवबस्तीनजिकै भएको बताइएको छ।

पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा बताएको छैन।

पाकिस्तानमा कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि हालै सञ्चालनमा आएको थियो।

Share Now

Leave a comment.