Prakash Adhikari May 22, 2020

काठमाडौं, ९ जेठ । कांग्रेस समर्थक नेपालीहरुको भारतस्थित संगठन जनसम्पर्क समिति भारतले कोरोना भाइरसको महामारीका कारण लकडाउनमा परेर रोजगारी गुमाएका नेपालीहरुलाई सुरक्षित रुपमा आफ्नो घरबाससम्म पुर्याउने बन्दोबस्त गर्न नेपाल सरकार र संबन्धित निकायहरुलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै भारत सरकारले कोरना भाइरस संक्रमणको महामारी तथा जोखिमलाई ध्यानमा राख्दै मे ३१ तारिखसम्म लकडाउन बढाएको कारण भारतमा रहेका नेपालीहरु समस्यामा परेको जनाउनुभएको छ ।


उहाँले पहिलो चरणको लकडाउनदेखि संगठनलाई परिचालन गरी बेरोजगार भएका र समस्यामा परेका नेपाली नागरिकहरुलाई राहत तथा उद्धार गरेको बताउनुभएको छ  ।   नेपालबाट भारतमा मजदूरी गर्न जाने नेपालीको संख्या कहि पनि अभिलिखित नभएकोले राहत र उद्धारमा समस्या परेको जनाउदै त्यहाँ रहेका नेपालीहरुलाई नेपाल सरकार, नेपाली दूतावास , प्रदेश र स्थानीय सरकारको समन्वयनमा सुव्यवस्थित तबरले ल्याउन बिलम्ब भएमा चेक जाच नगरी गलत बाटोबाट नेपाल भित्रिने संभावना भएकोले नेपालमा पनि कोरोना संक्रमणले महामारीको रुप लिन सक्ने र कतैबाट पहल नभएमा विदेशी भूमिमा भोकै मर्ने संभावना पनि भएकोले दुवै प्रतिकूल परिस्थितिको जिम्मेवार सरकार बन्नुपर्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहनुभएका पाण्डेले नेपाली जन सम्पर्क समितिले राहत तथा उद्धार अभियानलाई निरन्तर सुचारू राख्ने जानकारी दिंदै भारतमा रहेका नेपालीलाई जो जहाँ छन् त्यही बस्न आग्रह गर्नुभएको छ । उहाँले संकटको यस समयमा नेपालीहरुलाई छिटो घर पुर्याउने नाममा कोही कसैले अधिक भाडा र शुल्क लिएर चाँजोपाँजो मिलाउने प्रलोभन दिएमा उनीहरुसंग सतर्क रहन पनि  प्रवासी नेपालीलाई अनुरोध गर्नुभएको छ ।

उहाँले नेपाल सरकार तथा भारत सरकारबीच अपैचारिक तथा आधिकारिक रूपमा सीमा नाका संचालनमा कुनै समझौता नभएको उल्लेख गर्दै सिमावर्ती क्षेत्रमा करीब २ महिना क्वारेन्टाइनमा बसेका र प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिमाञ्चल प्रदेश अन्तर्गत केही स्थानीय सरकारले केहि नागरिकहरुलाई नगरपालिका, वडा र भारतमा रहेका विभिन्न संगठनका प्रतिनिधिहरुले समन्वय गरी  अन्तिम स्वास्थ्य परीक्षण गरी १४ दिन नेपालमा क्वारेन्टाइनमा राख्ने गरी नेपाल प्रवेश गराएको कुरा सत्य भएको बताउनुभएको छ ।

उहाँले यो प्रकृयाबाट नेपाल प्रवेश गर्नका लागि आफ्नो घरबास भएका नगर तथा गाँउपालिकाका संबन्धित प्रतिनिधिहरुसंग समन्वय गर्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले भारत सरकारले लकडाउन खुकुलो पारी रेल्वे सेवा सञ्चालन गरेकोले आवश्यक तयारी विना हिड्दा सीमावर्ति क्षेत्रमा अलपत्र पर्ने, भारतका क्वारेन्टाइनहरुमा बस्नुपर्ने, पर्याप्त सावधानी अपनाउन नसक्दा संक्रमितहरुको सम्पर्कमा आएर झन संक्रमणको जोखिममा पर्ने भएकोले दुवैतिरबाट आफ्नो गमन सुरक्षित हुने प्रत्याभूति नभई नेपाल प्रस्थान नगर्न पनि सचेत गराउनुभएको छ ।

उहाँले सीमावर्ती क्षेत्रमा पुगेका नेपालीहरुलाई केन्द्रीय, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरी नेपाल प्रवेश गराउने पहल भैरहेको बताउदै नेपाल सरकार तथा भारत सरकारको बीचमा सहमति भएर आधिकारिक सूचना सार्वजनिक नहुँदासम्म आफू जहाँ बसेको छ, त्यही बस्न अनुरोध गर्नुभएको छ ।

संकटको बेलामा पनि दुःखमा परेकाहरुलाई दुःख दिएर आफ्नो दुनो सोझ्याउनेहरु सक्रिय हुने भएकोले उनीहरुको चिप्ला कुरामा भर नपर्न भारतमा रहेका नेपालीहरुलाई नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले सचेत गराउनुभएको छ ।

Share Now

Leave a comment.