Prakash Adhikari May 24, 2020

 

लण्डन(संयुक्त अधिराज्य), ११ जेठ(बीबीसी) । कोरोनाभाइरस महामारीले उत्पन्न विश्वव्यापी स‍ङ्कटका कारण कर्मचारीलाई काम लगाउने रणनीति तय गर्न कम्पनीहरू व्यस्त भइरहँदा फेसबुक र न्यूजील्याण्डकी प्रधानमन्त्रीले काम गर्ने लचिलो व्यवस्थालाई समर्थन गरेका छन्।

बिहीवार फेसबुकले दीर्घकालीन रूपमा नै आफ्नो श्रमशक्तिलाई घर बसेरै काम गर्न मिल्ने व्यवस्था गर्ने जानकारी दिएको छ।

न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले यसै साता हप्तामा चार दिन काम गर्दा त्यसले देशको पर्यटनलाई प्रवर्द्धन गर्ने बताउनुभएको थियो।

अधिकारीहरूले बिस्तारै कोरोनाभाइरसको लकडाउन खुकुलो बनाउँदै गर्दा धेरै रोजगारदाताहरूले कर्मचारीलाई काम गराउने नयाँ तरिकाको खोजी गरिरहेका छन्।

घरबाटै काम गर्ने विकल्प

फेसबुकका स‍ंस्थापक तथा प्रमुख कार्यकारी मार्क जकरबर्गले आफ्ना कर्मचारीहरूलाई ‘घर बसेरै काम गर्न मिल्ने गरी’ जुलाईबाट रोजगारीका अवसरहरू खुला गर्ने बताउनुभएको छ।

उहाँले फेसबुकका आधा कर्मचारीले आगामी पाँचदेखि १० वर्षमा कार्यालय बाहिरबाटै काम गर्ने अपेक्षा गरेको बताउनुभयो।

प्रविधि कम्पनीहरूले विभिन्न किसिमका कदमहरू चालिरहँदा ट्विटरसहितका कम्पनीले कर्मचारीहरूले चाहेमा सदैव घरबाट काम गर्न सक्ने बताएका थिए।

सामाजिक दूरीसम्बन्धी नयाँ नियमहरू कतिपय कम्पनीहरूले लागु गरिरहँदा यस्तो नीतिले कार्यालय आउन धक मानिरहेका व्यक्तिहरूलाई राहत दिने ठानिन्छ।

न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डन
प्रधानमन्त्री आर्डनले देशको अर्थतन्त्रलाई प्रोत्साहन गर्न एवम् काम र जीवनबीच सन्तुलन मिलाउन हप्ताको चार दिन काममा लगाउनुपर्ने धारणा राख्नुभएको थियो।

उहाँले भन्नुभएको छ, “मैले धेरैजना व्यक्तिहरूले हामी पनि हप्ताको चार दिन मात्रै काम गरौँ भनेर सुझाव दिइरहेको सुनेको छु।”

ूअन्ततस् यो रोजगारदाता र कर्मचारीले टुङ्गो लगाउने विषय हो। तर मैले भनेजस्तै हामीले कोभिड ( १९ का बारेमा र लचिलो भएर घरबाटै काम गर्ने विषयमा धेरै कुरा सिकिरहेका छौँ र मलाई लाग्छ त्यसबाट थप उत्पादनशील हुन सकिन्छ।”

ठूला प्रविधि कम्पनीको अग्रसरता

प्रविधिसम्बन्धी अग्रणी कम्पनी माइक्रोसफ्टले अघिल्लो वर्ष जापानमा हप्तामा चार दिन काममा लगाउने रणनीति परीक्षण गरेको थियो।

Microsoft Monday: Office 365 Advanced Protection, $5 Billion For ...

त्यसबेला कर्मचारीले दिएका सुझाव र उत्पादनका हिसाबले त्यसलाई सफल ठानिएको थियो। कार्यालयहरू बिस्तारै खुल्दै जाँदा अब ‘मिश्रित खालको रणनीति’ लागु गर्ने उसको भनाइ छ।

माइक्रोसफ्टका एक प्रवक्ताले आगामी अक्टोबरबाट अधिकांश कर्मचारीहरूलाई घरबाटै काम गर्ने विकल्प दिइने बताए।

कुन कम्पनीले कस्तो परिवर्तन गरेका छन् ?

लचिलो र दीर्घकालीन रूपमा कामको व्यवस्थापनका सन्दर्भमा प्रविधि कम्पनीहरूले अग्रणी भूमिका निर्वाह गरिरहेका छन् :

एमेजन :  कम्तीमा अक्टोबरसम्म घरबाटै काम गर्ने विकल्प दिएको छ
बार्क्लेज : ७०,००० जना घरबाट काम गरिरहेका ब्याङ्कका उच्च अधिकारीले प्रमुख कार्यालय अब ‘इतिहासको कुरा’ बन्न सक्ने बताएका छन्
फेसबुक: घरबाट काम गर्ने व्यवस्थालाई आफ्नो दीर्घकालीन लक्ष्यको अङ्ग बनाउँदै सन् २०२० को अन्त्यसम्म विस्तार गर्ने निर्णय गरेको छ
गुगल: घरबाट काम गर्ने व्यवस्थालाई यो वर्षको अन्त्यसम्म लागु गरेको छ
मास्टरकार्ड: बहुसङ्ख्यक कर्मचारीहरूले आफू फर्कन तयार नभएसम्म घरबाटै काम गर्न सक्नेछन्
माइक्रोसफ्ट: अधिकांश कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था अक्टोबर महिनासम्मका लागि विस्तार
रोयल ब्याङ्क अफ स्कटल्याण्ड:  सेप्टेम्बर महिनाको अन्त्यसम्म घरबाटै काम गर्न मिल्ने व्यवस्था
स्पोटीफाइ:  कम्पनीका ४,००० कर्मचारीले यो वर्षको बाँकी अवधि घरबाटै काम गर्न पाउने

ट्विटरस् प्रमुख कार्यकारी ज्याक डर्सीले सबै कर्मचारीलाई स्थायी रूपमा नै घरबाट काम गर्ने विकल्प उपलब्ध गराइएको बताएका छन्।

विकल्प छैन
घरबाट काम गर्ने र हप्तामा काम गर्ने दिन घटाउने दुवै अवधारणाको मानव स‍ंशाधनका विज्ञहरूले सामूहिक रूपमा मानिसहरूलाई काममा फर्काउनुको विकल्प भन्दै स्वागत गरेका छन्।

Working from home? Why detachment is crucial for mental health

सिङ्गापुरस्थित एक परामर्शदाता एलिन अबराहम भन्नुहुन्छ, “यसले मानिसहरूलाई कामको र जीवनको सन्तुलन अझ मिलाउने अवसर दिन्छ। विद्यार्थीहरू, आमाहरू र सन्तानसँग बढी समय बिताउन इच्छुक अभिभावक वा ज्येष्ठ नागरिकहरूलाई हेर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई यसले सजिलो बनाउँछ।”

एलिन अबराहमले कोभिड-१९ पछि रोजगारदाताहरूले कामदारहरूका हकमा लचिलो व्यवस्था लागु गर्ने उपाय पहिल्याउन सके मानव स्रोत व्यवस्थापनका हिसाबले त्यो ठूलो विजय हुने बताउनुभयो।

बाहिरबाटै काम गर्न सकिने खालको व्यवस्था लागु गर्न सकिए कम्पनीहरूले कार्यालयको क्षेत्रफल व्यवस्थापनमा गरिरहेको खर्च पुनर्विचार गर्न सक्नेछन्।

मास्टरकार्डले अहिले आफ्ना केही कार्यालयहरूलाई थप चुस्त बनाउने सोचिरहेको छ भने फेसबुकले अमेरिकाभरि साना कार्यालयहरू स्थापना गर्ने योजना बुनिरहेको छ।

नयाँ वास्तविकता
व्यापार क्षेत्रका अगुवाहरूले घरबाटै काम गर्ने पक्षमा आफूलाई उभ्याइसकेका छन् र लचिलो किसिमका व्यवस्थापनमा पनि जुम र गुगल मीटजस्ता प्ल्याटफर्मको प्रविधिको प्रयोग गरिरहेका छन्।

मानव संशाधनसम्बन्धी परामर्शदाता इमली ड्र्याकोट जोन्स भन्नुहुन्छ,’ नयाँ सामान्य अवस्थामा काम गर्ने वातावरण फर्किएपछि अङ्गालिने वैकल्पिक ढाँचाहरूले कम साधन प्रयोग गर्न प्रेरित गर्न सक्छ।’

जोन्सले कोभिड-१९ पछि रोजगारदाताहरू पनि कार्यालयभित्र तोकिएको निश्चित समय सीमासँग उत्पादनशीलता जोडिएको भन्ने परम्परागत अवधारणाबाट पछि हट्ने उल्लेख गर्नुभयो।

Share Now

Leave a comment.