Prakash Adhikari May 24, 2020

 

क्यानबेरा(अष्ट्रेलिया), ११ जेठ । अष्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा विशाल आँधी आउन लागेको र अबको केही घण्टामै उक्त आँधी जमिनमा बज्रने बताइएको छ।

केही क्षेत्रमा मुसलधारे पानी, तीव्र गतिको हावा र आठ मिटर अग्ला सम्मका छाल आउने मौसम भविष्यवाणी गरिएको छ।

मौसम विभागका अनुसार यो प्रतिकूल मौसम उष्णप्रदेशीय आँधी माङ्गा चिसो हावासँग मिसिएपछिको परिणाम हो।

अग्नि तथा आपत्‌कालनीन सेवा विभागका वरिष्ठ अधिकारीले यो ‘एक दशकमा एक पटक आउने किसिमको’ आँधी भएको बताए।

प्रतिकूल मौसम

‘सामान्यतस् हामीकहाँ दक्षिण पश्चिमी आँधी आउँछ तर यो उत्तर पश्चिमी आँधी हो’, अग्नि तथा आपत्‌कालनीन सेवा विभागका जन ब्रूमहलले पत्रकारहरूलाई बताउनुभयो।

पश्चिमी तटीय क्षेत्रमा अस्वाभाविक किसिमको प्रतिकूल मौसम छाउनेछ। मौसमी प्रतिकूलता सोमवारदेखि कम हुँदै जाने पनि मौसमविद्हरूले बताएका छन्।

अधिकारीहरूले मानिसहरूलाई आफ्नो सम्पत्तिको सुरक्षा गर्न र सामानहरू बाँधेर राख्न भनेको बताइएको छ।

पश्चिमी अस्ट्रेलियाको धेरै ठाउँमा प्रतिकूल मौसमको चेतावनी जारी गरिएको छ।

यो पश्चिम अस्ट्रेलियाका लागि विरलै हुने घटनाका रूपमा पनि व्याख्या गरिएको छ।

तटीय क्षेत्रमा १०० किमि प्रति घण्टाको दरले हावा बहने र केही ठाउँमा त्यो गति १३० किमि प्रति घण्टासम्म रहने मौसम विभागले जनाएको छ। केही क्षेत्रमा १०० मिमि सम्म पानी पर्नसक्ने भनिएको छ।

यो मौसम प्रणालीले आइतवार पश्चिमी तटीय क्षेत्रमा हान्नेछ भने सोमवारसम्म त्यस्तै अवस्था रहने पनि आकलन गरिएको छ।

Share Now

Leave a comment.