उमाकान्त खनाल / बीबीसी न्यूज नेपाली
चन्द्रगढी(झापा), १२ जेठ । छिमेकी मुलुक भारतबाट नेपालीहरू सीमा नाका हुँदै दिनहुँ सयौँको सङ्ख्यामा आइरहेका बेला उनीहरूमा कोरोनाभाइरस सङ्क्रमण परीक्षण गर्न कठिनाइ उत्पन्न भएको सीमावर्ती क्षेत्रका स्थानीय तहहरूले बताएका छन्।
सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाइदिने गरेका कोरोनाभाइरस परीक्षण सामग्रीले अब धान्न नसक्ने अवस्था भएकाले आफैँ खरिद गर्नुको विकल्प नभएको स्थानीय तहका जनप्रतिनिधिहरूको भनाइ छ।
कतिपय स्थानीय तहले स्वाब सङ्कलनका लागि भीटीएमलगायत सामान आफैँ खरिद गर्न थालेका छन्।
सङ्घीय सरकारले खरिद गरेका स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता नरहेको भन्दै भ्रष्टाचार भएको हुनसक्ने आशङ्काका खबर प्रकाशित भइरहँदा स्थानीय तहले त्यस्ता सामान खरिद गर्ने प्रक्रियामा पारदर्शिताका विषयमा प्रदेश सरकार सजग रहेको प्रदेश १ सरकारको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताउनुभयो।
सङ्घीय सरकारका सामान अपर्याप्त

झापाको सबैभन्दा बढी स्थानीयबासीमा कोरोनाभाइरस सङ्क्रमण पाइएको कचनकवल गाउँपालिकाले सम्भावित सङ्क्रमितको स्वाब सङ्कलनका लागि ५ सय वटा भीटीएम खरिद गरिसकेको छ।
केन्द्र सरकारले पठाएका सामग्रीले अहिले भारतबाट आइरहेका मानिसहरूको कोरोनाभाइरस परीक्षणका लागि नपुग्ने भन्दै स्वास्थ्य सामग्री खरिद गर्न थालिएको गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले जानकारी दिनुभयो।
झापाका सबै स्थानीय तहलाई पाँचरपाँच सयवटा भीटीएम खरिद गर्न आग्रह गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताउनुभयो।
पोर्तेलले बताउनुभयो, ‘सङ्घीय सरकारमा पनि सामग्रीको अभाव होला। अहिले भारतबाट दिनहुँ मानिसहरू आउने क्रम रहेको र उनीहरूको परीक्षण तत्काल गराउनका लागि भीटीएम किन्न आग्रह गरिएको हो।’
पर्साको वीरगञ्ज महानगरपालिकाले पनि भीटीएम लगायत कोरोनाभाइरस परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महानगरपालिकाका प्रमुख विजय सरावगीले बताउनुभयो।
सराबगीले भन्नुभयो, ‘भीटीएम किने पनि परीक्षण गर्ने मेसिन नभए फेरि पनि समस्या त उस्तै हुन्छ भनेर पीसीआर मेसिन खरिदका लागि टेन्डर आह्वान गर्न लाग्दैछौँ।’
खचाखच क्वारेन्टाइन
नेपाल-भारतका सीमावर्ती क्षेत्रहरूबाट एक सातादेखि दैनिक सयौँको सङ्ख्यामा नेपालीहरू नेपाल आइरहेका छन्।
मुख्य नाकाहरू खुला नभएपनि राति-राति अन्य नाका प्रयोग गर्दै नेपालीहरुलाई सीमाबाट स्थानीय तहहरूले उद्धार गरेर क्वारन्टाइनमा राख्ने गरेका छन्।

आइतवारसम्ममा झापाका सीमावर्ती क्षेत्रबाट १ हजार ५ सय भन्दा बढी नेपालीहरूलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ।
तिनै भारतबाट आउने मानिसहरूमा कोरोनाभाइरस छरछैन भनेर परीक्षण गर्नका लागि सामग्री अपुग भएकाले स्थानीय तहहरूलाई खरिदका लागि आग्रह गरिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरी पौडेलले बताउनुभयो।
पौडेलले भन्नुभयो, ‘केन्द्र सरकारले पठाएको एक हजार भीटीएम दुई दिनमा सकिन्छ। अनि परीक्षणका लागि स्वाब प्रयोगशालामा कसरी पठाउने ? त्यसैले स्थानीय तहलाई खरिदका लागि आग्रह गरिएको हो।’
धेरै सङ्क्रमित पाइएको बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अह्मद साहले यो बेला केन्द्र सरकार गम्भीर बन्नुपर्ने गुनासो गर्नुभएको छ।
साहले भन्नुभयो, ‘मेरो गाउँपालिकाको त हालत विग्रेको छ। सङ्क्रमण ज्यादा देखिएको स्थानमा अलि ध्यान दिए हुन्थ्यो।’
भीटीएमको अभाव छः स्वास्थ्य मन्त्रालय
सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्भावित सङ्क्रमितको ‘थ्रोट स्वाब’ राखेर प्रयोगशाला पुर्याइने उपकरण भीटीएम अभाव भएको जनाएको छ।
मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले भीटीएम अभाव भएकैले स्थानीय तहले खरिद गर्दा परीक्षण सहज हुने बताउनुभयो।
डा.अधिकारीले भन्नुभयो, ‘सङ्क्रमण बढी देखिएको स्थानमा मन्त्रालयले सामान पुर्याउँछ नै। तर स्थानीय तहले खरिद गर्दा चाहिएको बेला प्रयोग गर्न सहज भयो नि। सङ्घीय तथा प्रदेश सरकारले सहयोग त गर्छ।’
तर सामान खरिद गर्न सहज भने नभएको स्थानीय तहका पदाधिकारीको भनाइ छ।
सामान खरिद गर्दा अनियमितताका कुरा पटकरपटक आइरहने हुनाले आवश्यक परेको खण्डमा अनुगमन गरिने प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताउनुभयो।
गजमेरले भन्नुभयो, ‘यो विपद्का बेला सामान खरिद गर्दा पारदर्शी ढङ्गले नै गर्लान् भनेर विश्वास गर्नैपर्छ। तर त्यसका लागि आवश्यक परेको खण्डमा प्रदेश सरकारले अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ।’
त्यस्ता खरिद गरिएका सामान गुणस्तरीय हुनुपर्ने राज्यमन्त्री गजमेरले बताउनुभयो।








