वाशिंटन डीसी (संयुक्त राज्य अमेरिका), १२ जेठ(बीबीसी) । पछिल्ला १४ दिनमा ब्राजिल यात्रा गरेका विदेशी नागरिकहरूलाई अमेरिकाले आफ्नो देश छिर्नमा प्रतिबन्ध लगाएको छ।ब्राजिलले हालै पुष्टि भएका कोरोना भाइरस सङ्क्रमितको सङ्ख्याका आधारमा रूसलाई उछिनेको छ।
३ लाख ६० हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएसँगै उक्त दक्षिण अमेरिकी देश हालै विश्वको दोस्रो ठूलो केन्द्र बनेको छ।
त्यहाँ २२ हजार भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन्।
‘नयाँ सङ्क्रमण रोक्ने उपाय’
यस्तो प्रतिबन्धलाई ह्वाइटहाउसकी एकजना प्रवक्ताले अमेरिकामा नयाँ सङ्क्रमण नभित्र्याउने कार्य सुनिश्चित गर्ने उपाय बताउनुभएको छ।
दुई देशबीचको व्यापारमा भने यस प्रतिबन्धले असर नगर्ने बताइएको छ।
प्रतिबन्धले अमेरिकी नागरिक, उनीहरूका श्रीमानरश्रीमती, अभिभावक, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएका र २१ वर्ष मुनिका तिनका धेरैजसो दाजुभाइ एवं दिदीबहिनीहरूलाई भने रोक्नेछैन।
यसअघि आइतवार ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्टो ब्राइनले यसैगरी अन्य देशहरूलाई समेत पालैपालो हेरिने बताउनुभएको थियो।
सङ्क्रमणको दोस्रो केन्द्र
अमेरिकामा अहिले सबैभन्दा धेरै १६ लाखभन्दा बढी सङ्क्रमित पुष्टि हुनुका साथै झण्डै एक लाख मानिसहरूले ज्यान गुमाएका छन्।
यसअघि नै चीन, इरान, युरोपको सेन्जेन क्षेत्र, ब्रिटेन र रिपब्लिक अफ आयरल्याण्ड भ्रमण गर्नेहरूलाई अमेरिकामा प्रतिबन्ध लगाइएको छ।
क्यानडा र अमेरिकाले समेत हालै दुई देशको सीमामा अत्यावश्यक बाहेकका यात्राका लागि जारी बन्द लम्ब्याउने सहमति गरेका छन्।
ब्राजिलले हालै पुष्टि भएका भाइरस सङ्क्रमितको सङ्ख्याका आधारमा रूसलाई उछिनेको थियो।
तर राष्ट्रपति जइर बोल्सोनारोले भने बारम्बार भाइरसले उत्पन्न गराएको जोखिमलाई नकार्दै आउनुभएको छ।


















