Prakash Adhikari June 26, 2020

जावलाखेल(ललितपुर),१२ आषाढ । मुलुकको अर्थतन्त्रको ब्यारोमिटर मानिने सेयर बजार खोल्नको लागि सेयर लगानीकर्ताका पाँचै संगठनहरु तयार भएका छन् ।

तर बजार बन्द गर्न माग गर्दै नेपाल स्टक एक्सचेञ्ज लि., धितोपत्र बोर्ड र अर्थमन्त्रालय धाउने लगानीकर्ता संगठनहरु बजार खोल्न तयार भएपनि नियमन निकाय धितोपत्र बोर्डले भने यस सम्बन्धमा कुनै निर्णय लिएको छैन् ।

बोर्डका कार्यकारी अध्यक्ष भिष्मराज ढुंगानाले अर्थमन्त्री डा. युवराज खतिवडाको मुख ताक्नुभएको धेरैले अनुमान लगाएका छन् । अर्थमन्त्री डा.खतिवडा धितोपत्र बजार सञ्चालन भएमा कोरोना संक्रमणको असरका कारण बजार घटेर तल पुग्ने र त्यसको अपजस आफूमा आउने त्रासले भयभित हुनुभएको बताइन्छ ।

यद्यपि लकडाउन कै बीचमा पनि बैशाख ३० र ३१ गते बजार खुलेको थियो । तर दुवै दिन छोटो अवधिमा नै २ प्रतिशतको नेगेटिभ सर्किट हानेको कारण बजार निर्धारित समय कारोबार नगरी अगाडि नै बन्द गर्नुपरेको थियो ।

धितोपत्र बजार माग र आपूर्तिमा निर्भर प्रतिस्पर्धात्मक बजार भएकोले यसको मूल्य माग र आपूर्तिले नै तय हुने भएकोले यो बजार बन्द गर्नुको औचित्य कतैबाट पनि पुष्टि हुन सकेको छैन् ।

कोरोना भाइरसको विश्वव्यापी संकट र लक डाउनका बीचमा पनि विश्वका अधिकांश सेयर बजार निरन्तर चलिरहेको देखिन्छ । यद्यपि खुला बजारमा बस्तु र सेवा बिक्री गर्ने कम्पनीहरुको काम कारबाहीमा कोरोना संक्रमणको महामारी र लकडाउनको कारण असर परेको हुनाले नाफा घटेका कम्पनीहरुको सेयर मूल्यमा भने संसारभर ह्रास आएको थियो ।

नेपालको सेयर बजारमा बस्तु उत्पादक वास्तविक क्षेत्रका उद्योगभन्दा सेवामूलक बैंक,वित्तीय संस्था र बीमाको दबदबा कायम रहेको र विगतका ३ वटा त्रयमासमा गरिएको लगानीका आधारमा साँबा ब्याज भुक्तानी वा प्रिमियम संकलन कायम रहेकोले तिनको नाफामा धेरै ठूलो अन्तर नआउने बतान्छ ।

सरकारले कोरोना राहत तथा उद्धार प्याकेज, बजेट र आगामी मौद्रिक नीतिबाट पनि कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसबाट जोगिन नेपालले अवलम्बन गरेको लक डाउनबाट पीडित व्यवसायीलाई दिने राहत र सो राहतका लागि बैक तथा वित्तीय क्षेत्रलाई नियमन निकाय नेपाल राष्ट्र बैंकले दिने सहयोग र सहुलियतका कारण आर्थिक बर्षको अन्तमा यी सस्थाहरुको वासलातमा विगतको तुलनामा धेरै ठूलो अन्तर नआउने अवस्था आउन सक्ने अवस्था छ ।

सेयर बजारका लगानीकर्ताहरुको धेरै सरोकार रही आएको सेयर कर्जाको व्याजदर कम गर्ने, सेयर धितोमा पाउने कर्जाको सीमा बढाउने लगायतका विषयलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकको नयाँ नेतृत्व तयार भएको छ भने ठूला लगानीकर्ताहरुले विद्युतीय माध्यमबाट गरिने भुक्तानीको सीमा हटाउन गरेको अनुरोधलाई राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु र विद्युतीय भुक्तानी गर्ने संस्थाहरुलाई सर्कुलर जारी गरी सीमा हटाइएको जानकारी दिईसकेको छ ।

लगानीकर्ताहरु खुला बजारको पक्षमा

शुक्रबार धितोपत्र बोर्डसंगको वार्ताका क्रममा लगानीकर्ता संगठनहरुले आउने दिनमा कहिल्यै पनि बजार बन्द नगर्ने र आन्दोलनमा पनि नउत्रिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

बोर्डमा भएको उक्त निर्णयमा अब उप्रान्त कुनै पनि बाहनामा धितोपत्रको दोस्रो बजार बन्द नगर्ने व्यवस्था मिलाउन सबै लगानीकताहरूले प्रतिवद्धता जाहेर गर्दै बोर्डले यस अवधिमा भए गरेका प्रगतिहरुलाई जानकारी गराउँदै सकेसम्म चाँडो दोस्रो बजार खुला गर्नसमेत अनुरोध गर्ने निर्णय भयो भन्ने उल्लेख छ ।


लगानीकर्ताका संगठनहरुले आफ्ना सदस्यहरुलाई यस महामारीको अवस्थामा घरमै बसेर सेयर कारोबार गर्न प्रोत्साहित गर्ने र सो अनुरूप सल्लाह सुझाव दिने कुरा पनि निर्णयमा परेको छ ।

लगानीकर्ताका संगठनहरुले नेपालको पूँजी बजारलाई नीति, नियम, पूर्वाधार र प्रविधिले सम्पन्न गरी बजार विकास, विस्तार सुधार गर्न लगानीकर्ता तथा अन्य सरोकारवालहरुको सुझावलाई गम्भीरतापूर्वक लिएकोमा नियमन निकाय नेपाल धितोपत्र बोर्डको तारिफ गरेका छन्।

लकडाउनका बीचमा बैशाख ३० र ३१ सेयर बजार खुलेपछि नकारात्मक सर्किट लागेको कारण बजार बन्द गर्न दबाब दिने लगानीकर्ताहरुले बजार खोल्ने बाहना खोजेको पनि बोर्डसंगको सहमतिमा बिम्बित भएको छ । लगानीकर्ताका संगठनहरुले नेप्सेको अनलाइन कारोबार प्रणालीमा केही सुधार भएको र विद्यमान अवस्थामा युजरनेम र पासवर्ड प्राप्त गर्ने, तत्कालको लागि नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस सेवा या उपयुक्त विद्युतीय माध्यम प्रयोग गर्ने व्यवस्था भएपछि बजार पूर्णरुपमा सूचारु हुने देखिएको उल्लेख गरेका छन् ।

त्यस्तै मिडिएम एण्ड क्लियरिट लिमिटेडले तोकेको क्लियरिङ बैंकहरुको इन्टरनेट बैकिङ सेवा तथा सिडिएस एण्ड क्लियरिस लिमिटेडको मेरो सेयर सुविधा प्राप्त गरे पश्चात ग्राहकले घरमै बसी अनलाइन मार्फत शेयर खरीद बिक्री गर्नुका साथै शेयर बिक्री पश्चात इलोक्ट्रोनिक माध्यमबाट रकम भुक्तानी गर्न र प्राप्त गर्न समस्या रहेको नदेखिएकोले बजार पूर्ण रुपमा सञ्चालन हुन सक्ने अवस्था रहेको पनि उनीहरुको ठम्याइरहेको छ ।

लगानीकर्ताहरुले बजार सुचारु गराउनका लागि बोर्डको प्रशंसाको पुल बाध्दै भनेका छन्, अब बोर्डले सम्बन्धित लगानीकतालाई सुसूचित गर्ने र अन्य सुधारका काम कारवाहीहरु क्रमशः अगाडि बडाउदै जाने कुरामा सबै लगानीकर्ताका सँघ, संस्था र समूह बीच मतैक्यता भई नेपाल धितोपत्र बोर्डलाई दोस्रो बजार सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

बोर्डसंगको छलफलमा नेपाल इन्भेष्टर्स फोरमबाट अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी, शेयर लगानीकर्ता दबाब समूहबाट अध्यक्ष तिलक कोइराला र सचिव गोपाल स्वामी सहभागी थिए ।

Share Now

Leave a comment.