काठमाडौं, ६ साउन । नेपाल सरकारले चैतको ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलवार राती १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ।
सोमवारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताउनुभएको छ।
बैठकको निर्णय सार्वजनिक गर्न मङ्गलवार आयोजित पत्रकार सम्मेलमा मन्त्री खतिवडाले भन्नुभयो, ‘अब भरे राति १२ बजेबाट लकडाउन सकियो भन्ने बुझ्नुपर्यो।’
तर विभिन्न क्षेत्रमा जारी कतिपय प्रतिबन्धहरू कामयमै राखिएको र त्यसलाई क्रमशस् खुला गर्दै लगिने पनि उहाँले उल्लेख गर्नुभयोे।
प्रवक्ताको भनाई
लकडाउनका बारेमा उपस्थित पत्रकारले पुनः प्रश्न गरेका थिए।
“…एउटा कुरा म फेरि दोहोर्याउँछु। हामी अहिले लकडाउनमा छौँ भन्ने दिन सकिइो । अब भरे राति १२ बजेबाट लकडाउन हट्यो।”, त्यसको जवाफ दिँदै मन्त्री खतिवडाले भन्नुभयो, “… यो लकडाउनले हामीलाई धेरै मनोवैज्ञानिक त्रास पनि दियो र अर्को प्रकारले हामीलाई धेरै कुराका लागि बहानाबाजी पनि भयो। यो कुरा चाहिँ अब नहोस्।”
तर अर्थ एवम् सूचना, सञ्चार तथा प्रविधि मन्त्री खतिवडाले कोरोनाभाइरसको जोखिम भने कायम रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तर त्यो भनेर हामीलाई…. सङक्रमणको जोखिम छैन भन्ने होइन।”
जोखिम कायम रहेकै कारण अन्य केही क्षेत्रमा पनि केही प्रतिबन्धहरू रहने बताइएको छ।
खुल्ने क्षेत्र केके ?
खतिवडाका अनुसार सरकारले साउन १५ गतेदेखि सर्तहरूसहित होटल, रेस्टुराँ, ट्राभल तथा ट्रेकिङलगायत पर्यटन व्यवसायहरू खुला गर्ने निर्णय गरेको छ।
पर्वतारोहण भने खुला गरिएको छैन।
त्यस्तै अन्य विभिन्न व्यवसाय र क्षेत्रहरू पनि आगामी भदौ १ गतेदेखि खुला गर्ने जानकारी मन्त्री खतिवडाले दिनुभएको छ।
खतिवडाले दिएको जानकारी अनुसार सबै खुला गरिने क्षेत्रले जनस्वास्थ्य मापदण्ड र कोरोनाभाइरसबाट बच्ने सुरक्षात्मक उपायहरू अपनाउनुपर्नेछ।
होटलहरू खुले पनि त्यहाँ सामूहिक भोज भने गर्न पाइने छैन।
भदौदेखि विद्यालयले भर्ना लिन पाउने
भदौ १ गतेदेखि विद्यालयहरूले विद्यार्थी भर्ना लिन पाउनेछन्।
तर कक्षाहरू भने दूरशिक्षाकै माध्यमबाट मात्र चलाउनुपर्ने मन्त्री खतिवडाले जानकारी दिनुभयो।
त्यस्तै भदौ १ गतेदेखि लामो दूरीका अन्तर जिल्ला सार्वजनिक यातायात पनि सञ्चालन गर्न सकिने खतिवडाले बताउनुभयो ।
तर सभा, सम्मेलन, सैलुन, ब्युटिपार्लर, स्पा, खेल मैदान र धार्मिक स्थलहरू भने भदौ १ गतेपछि पनि बन्दै रहनेछन्।
सीमा पनि बन्द
साउन मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय निरन्तर रहने मन्त्री खतिवडाले बताउनुभयो ।
सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि खुला गर्ने निर्णय गरेको सोमवारै पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभएको थियो।
खतिवडाले खुला गर्ने निर्णय गरिएका क्षेत्रहरू पनि तत्कालै पूर्ण सञ्चालनमा आउन नसक्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने बताउनुभएको छ।
खुला गरिएका क्षेत्रमा सामाजिक दूरी कायम गर्नुपर्ने र जनस्वास्थ्य सम्बन्धी मापदण्डको पालन गरिनुपर्ने सरकारले जनाएको छ।(बीबीसी नेपाली सेवाबाट)


















