काठमाडौं, ३० साउन । गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ५ सय ९४ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ।
यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २५ हजार ५ सय ५१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार अहिले ७ हजार ९ सय १३ जनामा सक्रिय सङ्क्रमण छ भने १७ हजार ७७ जना भाइरसमुक्त भएका छन्।
गएको आठ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ छ।

परीक्षणको अवस्था
गएको २४ घण्टामा ११ हजार ५ सय ७५ वटा पीसीआर परीक्षण गरिएको छ।
हालसम्म ४ लाख ९४ हजार ६ सय १३ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा २ सय ४० जना रोगमुक्त प्रमाणित भएका थिए।
अहिले देशभरि क्वारन्टाइनमा १४ हजार ६ सय ३८ जना छन्।


















