काठमाडौं,१ भदौ । नेपाल सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि तय भइसकेका आजदेखिका चार्टर्ड उडान स्थगित गरेको छ ।
कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ ।

त्यसकै आधारमा पर्यटन मन्त्रालयले चार्टर्ड उडान स्थगन गरेको हो ।
मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सलाई पत्र पठाएर पाँचौ चरणको उद्धारका लागि निर्धारित चार्टर्ड उडानहरु अर्को सूचना नआएसम्म स्थगित गर्न अनुरोध गरेको छ ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले विदेशस्थित दूतावासहरुको सिफारिसमा ३ सय जना र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।



















