Prakash Adhikari August 28, 2020

 

टोकियो (जापान), १२ भाद्र(बीबीसी) । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिनुभएको छ।

आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा भने उहाँले जापानी जनतासँग क्षमा याचना गर्नुभएको छ ।

यसअघि उहाँको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो।

उहाँ आन्द्राको समस्याबाट लामो समयदेखि पीडित हुनुहुन्छ। अहिले उहाँको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ।

सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहनुभएको थियो।

सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहनुभएका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुनुहुन्छ। ‍उहाँको पदावधि २०२१ सम्म थियो।

प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो

सन् २००७ मा पनि आबेले स्वास्थ्यकै कारण प्रधानमन्त्रीको पद छोड्नुभएको थियो।

उहाँलाई किशोरावस्थादेखि आन्द्रा सुन्निने रोग छ।

एकै साता दुई चोटि अस्पताल गएपछि आबेको स्वास्थ्यस्थिति बिग्रिन थालेको हो कि भनेर प्रश्न उठ्यो।

उहाँले आफू किन अस्पताल गएको हो भनेर बताउनुभएको छैन । तर एक चोटि आठ घण्टा अस्पतालमा बसेको विवरण प्राप्त भएको छ।

आबे
यसअघि सत्तारूढ दल लिबरल डेमोक्र्याटिक पार्टीका पदाधिकारीहरूले आबेले पदत्याग गर्ने अनुमानको खण्डन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य ठिक भएको दाबी गरेका थिए।

मङ्गलवार उहाँका एक सहयोगीले समाचारसंस्था रोएटर्सलाई आबेले आफ्नो पदावधि पूरा गर्ने आफूलाई लागेको बताएका थिए।

संसद् भङ्ग हुने र मध्यावधि निर्वाचन गराइने अनुमानको खण्डन गर्दै आकिरा आमारीले प्रधानमन्त्रीले त्यसो नगर्ने दाबी गर्नुभएको थियो। ‘अहिले कुनै मध्यावधि निर्वाचन हुँदैन’, उहाँको भनाइ थियो।

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न चालिएको कदमप्रति असन्तुष्टि भएकाले सरकारको लोकप्रियता केही घटेको बताइन्छ।

जापानमा प्रधानमन्त्री अशक्त भए के हुन्छ ?

प्रधानमन्त्रीले कार्यभार सम्हाल्न नसकेको अवस्थामा जापानी कानुनअनुसार कार्यवाहक प्रधानमन्त्री नियुक्त हुन्छन्।

तर कार्यवाहक प्रधानमन्त्री कहिलेसम्म पदमा रहने भन्ने सीमा तोकिएको छैन।

आबे
उपप्रधानमन्त्री तथा अर्थमन्त्री टारो आसो मर्यादाक्रममा प्रधानमन्त्रीपछि दोस्रो स्थानमा र त्यसपछि मन्त्रिपरिषद्का मुख्यसचिव योशिहिदे सुगा हुनुहुन्छ।

कार्यवाहक प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गर्न सक्दैनन्।

तर दलले नयाँ नेता र प्रधानमन्त्री नछानेसम्म अन्य काम गर्न सक्छन्।

अब के हुन्छ ?

प्रधानमन्त्रीले राजीनामाले तत्काल लागू हुनेगरी राजिनामा दिनुभएको हो कि आफ्नो उत्तराधिकारीको चयन हुन्जेल उहाँ पदमै बस्नुहुन्छ भन्ने स्पष्ट भइसकेको छैन।

आबेले राजीनामको घोषणापछि अब सत्तारूढ दलले आफ्नो नयाँ अध्यक्ष चुन्न मतदान गराउनुपर्छ।

त्यसपछि संसद्‌मा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुनेछ।

त्यसरी छानिएका नेता आगामी वर्ष सेप्टेम्बरसम्मका लागि आबेका स्थानमा प्रधानमन्त्री बन्नेछन्।

Share Now

Leave a comment.