काठमाडौं, ११ माघ । बार एसोसियसनका पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बारका पूर्वअध्यक्ष तथा जेष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र समग्र कानुन व्यवसायी तथा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई समेत होच्याउने गरी दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्नुभएको छ।
बारका पूर्वअध्यक्ष समेत रहेका चार वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार एक संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई समस्त कानुनव्यवसाय माथि सत्तापक्षबाट गरिएको निर्लज्ज प्रहार भन्नुभएको छ।
नेपालभरका प्रतिरक्षी कानून व्यवसायीहरुको छाता संगठनका नेतृत्व गरिसक्नुभएका वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्री ओलीलाई अदालतमा विचाराधीन विषयमा असर समेत पार्ने नियतले कानून व्यवसायी तथा प्रधानन्यायाधीशको नेतृत्वमा रहेको संवैधानिक इजलासलाई होच्याउने गरेर आएको अभिव्यक्तिप्रति सार्वजनिक क्षमायाचना गर्न माग समेत गर्नुभएको छ।
वारका पूर्व अध्यक्षहरुले न्यायको मन्दिर मानिएको न्यायालय र त्यस मन्दिरमा आफ्ना पक्षलाई न्याय दिलाउन समर्पित रहेने कानून व्यवसायीलाई अपमानित गर्ने गरिआएको अभिव्यक्तिविरुद्ध उभिन बार एसोसियसन र देशभरका कानुन व्यवसायीलाई अनुरोध गर्नुभएको छ।
‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अपहेलनाजन्य कार्य गरे वापत उहाँलाई जवाफदेही बनाउन यसै विज्ञप्तिद्वारा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं,’ चार अध्यक्षहरुद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘साथै संविधान सभाद्वारा जारी भएको संविधानको रक्षा गरेर मुलुकलाई संवैधानिक मार्गमा पुनः अवतरण गराउने कार्यमा लागि पर्न समेत आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं।’