Prakash Adhikari August 29, 2021

दशरथचन्द नगरपालिका(बैतडी),१३ भाद्र । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिन। आज व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गर्दछन्।

व्रतालु महिलाहरुले बिहानै नुहाई धुवाई गरेर साँझ गौरालाई गौरा घरमा भित्र्याउने चलन छ। आज अमुक्ताभरण सप्तमीका दिन व्रतालु महिलाहरु एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्छन्। गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिएको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गोल्मा भाटले बताउनुभयो।

व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाइन्छ। यसका साथै साँझ व्रतालुहरुले कुण्ड स्नान गर्ने चलन छ। आज गौरादेवीमा चढाएको दुबधागोलाई दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्दछन्।

गौरापर्वको मुख्य दिन आज गौरा र महेश्वरको पूजागरी व्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ।
अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो।

तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्।

 

Share Now

Leave a comment.