काठमाडौं, १६ भाद्र । काठमाडौं उपत्यकामा बैशाख १६ देखि लागू भएको निषेधाज्ञा भाद्र १६ मध्यरातदेखि हट्ने भएको छ ।
बुधबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएका घोषणा गरेका छन्।
बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरिएको बताउनुभएको छ।
ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन्।
ुनिषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं। स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं,ु प्रजिअ पराजुलीले भन्नुभयो।
बुधबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो कोरोना भाइरसको दैनिक संक्रमण दर र मृत्यु संख्या घट्दै जानुका साथै खोप लगाउनेहरुको संख्या बढ्दै गएकोले पूर्ववत् कडाई गरिराख्नुपर्ने अवस्था नरहेको भन्दै निषेधाज्ञा हटाउने जारी गरेका हुन्।
यसअघि शैक्षिक संस्थाहरूलाई भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाइएको थियो।
अब भने स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न पाइने छ।
त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ।
प्रशासनले स्थानीय ढुवानीलाई बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म गर्न दिनेभएको छ।
सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन संचालन गर्न पाइने भएको छ।


















