काठमाडौं., २१ फागुन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सम्पन्न हुन बाँकी रहेका जिल्ला अधिवेशन धमाधम सम्पन्न भएर नयाँ नेतृत्व चयन भैरहेका छन् । कतिपय जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने कतिपयमा दुई चरणको निर्वाचन भएर नेतृत्व चयन भएको छ ।
नेपाली काग्रेसले दिएको जानकारी अनुसार (नवलपरासी पूर्व)मा सर्वसम्मतिले पाटीै अध्यक्षमा पुराना नेता महेन्द्रध्वज जी.सी. चयन हुनुभएको छ ।
जिल्ला उपसभापतिमा र सचिवमा ४–४ जनाको उम्मेदवारी परेको छ । शुक्रबार मनोनयन गरेका धेरैले उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार अधिवेशन भएकोले उपसभापति, सचिव र सहसचिवमा पनि सर्वसम्मति कायम गर्ने प्रयास जारी रहने बताइएको छ । जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् ।
क्लस्टरबाट निर्वाचन गर्न पर्ने उम्मेदवार धेरै भएकाले १६ हजार मतपत्र छाप्न पर्ने निर्वाचन समितिका सदस्य चुडामणि कँडेलले जानकारी दिनुभएको छ ।
चितवनमा दोस्रो चरणमा राजेश्वर सर्वसम्मत
नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन हुनुभएको छ । दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समेत समर्थन गरेका कारण खनाललाई बिना मतदान सभापति घोषणा गरिएको हो ।
चितवन कांग्रेसको सभापति पदका लागि बिहीबार पाँच जनाले मनोनयन दायर गरेका थिए ।
शुक्रबार भएको निर्वाचन परिणाममा कुनै पनि उम्मेवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान शनिबारका लागि तय भएको थियो । तर प्रतिस्पर्धामा रहेका श्रेष्ठले पनि खनाललाई नै समर्थन गरेपछि निर्वाचन समितिले खनाल सभापतिमा चयन भएको घोषणा गरेको हो । पहिलो चरणमा खनालले ७ सय ४६ र श्रेष्ठले ६ सय ६२ मत पाउनुभएको थियो ।
चितवन कांग्रेसको सभापतिमा उत्तम जोशी, सूर्यकान्त खनाल र कैलाश कोइराला पनि प्रतिस्पर्धामा हुुनुहुन्थ्यो
।
नयाँ कार्यसमितिको ४८ पदमा निर्वाचन भएको छ । बाँकी पदको मतगणना आइतबारबाट सुरू हुने कांग्रेस चितवनको निर्वाचन समितिले जनाएको छ ।
महोत्तरीमा नागेश्वर यादव
महोत्तरीमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा संस्थापन पक्षका नागेश्वर यादव विजयी हुनुभएको छ।
पहिलो चरणमा सभापतिमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा सर्वसम्मतिले यादवलाई सभापति चयन गरिएको हो।
पहिलो चरणमा नागेश्वरले १ हजार ११, शुशील यादवले ७ सय ७९ र बजरंग नेपालीले ३ सय ६ मत मात्र प्राप्त गर्नुभएको थियो।
पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशील यादवबीच प्रतिस्पर्धा भएको थियो ।
सुशील समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि सर्वसम्मतिले नागेश्वर चयन भएको निर्वाचन समितिले घोषणा गरेको हो।
कांग्रेस पर्सामा जनार्दन
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साको अधिवेशनबाट सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ।
मत परिणामअनुसार जनार्दनले १ हजार १ सय १० मत प्राप्त गर्नुभो भने उहाँका प्रतिद्धन्दी श्याम पटेलले ६ सय ४५ मत मात्रै प्राप्त गर्नुभएको थियो।
उपसभापतिलगायत पदाधिकारीमा जनार्दनको प्यानलले नै जितेको छ। यहाँ बिहीबार जिल्ला अधिवेशनका लागि मतदान हुँदा १ हजार ७ सय ७९ मत खसेको थियो।
कैलालीमा भट्ट
नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी हुनुभएको छ। बिहीबार भएको दोस्रो चरणमा भएको मतदानमा प्रतिष्पर्धी प्रकाश बमलाई पराजित गर्दै भट्ट सभापतिमा विजयी हुनुभएको हो।
बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार सभापति भट्टले १ हजार ३ सय ५९ मत पाउनुभयो भने बमले १ हजार ५६ मत ल्याउनुभयो।
पहिलो चरणको मतदानमा बमले १ हजार १ सय ६९ र भट्टले १ हजार ७२ र अर्का उम्मेदवार रामबहादुर कलेलले १ सय ९७ मत पाउनुभयो।
बाँकेमा गौडेल
नेपाली काँग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित हुनुभएको छ । दोस्रो राउन्डको मतदानमा बादसाह कुर्मीलाई पराजित गर्दै गौडेल सभापतिमा निर्वाचित हुनुभएको हो ।
निर्वाचन समितिका अनुसार गौडेलले ७ सय ६० मत ल्याउनुभयो भने कुर्मीले ६ सय ६३ मत ।
पहिलो चरणको निर्वाचनमा तेस्रो भएका संस्थापन पक्षका उम्मेदवार सुरेन्द्र हमालले दोस्रो चरणमा कोइराला समूहका गौडेललाई समर्थन गर्नुभएको थियो । हमाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री हुनुहुन्छ ।
बाँके कांग्रेसको सभापतिका लागि नारायणप्रसाद गौडेल , सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिल नरसिंह राणाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । राणाले अन्तिम समय दरखास्त फिर्ता लिनुभयो भने पहिलो चरणको मतदानबाट सुरेन्द्र पनि आउट हुनुभयो ।


















