Prakash Adhikari April 27, 2022

 

मस्को(रुस), १४ बैशाख(बीबीसी) । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ।

पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको जनाएको छ।

बल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ।

रुसले मित्रवत् व्यवहार नगर्ने देशहरूले कि रुबलमा ग्यासको भुक्तानी गर्न थाल्नुपर्ने वा आपूर्ति कटौती गर्ने बताएपछि यस्तो अवस्था उत्पन्न भएको हो।

दुवै देशले त्यसरी भुक्तानी गर्न अस्वीकार गरेका छन्।

रुसी कम्पनीमा निर्भरता

पीजीएनआईजी अधिकांश ग्यास आयातका लागि ग्याजप्रोममा निर्भर छ।

उसले यस वर्षको पहिलो त्रैमासिकमा उक्त रुसी कम्पनीबाट आयातको ५३ प्रतिशत ग्यास किनेको छ।

पीजीएनआईजीले आपूर्ति रोक्ने कार्यलाई सम्झौताको उल्लङ्घनका रूपमा वर्णन गरेको छ र ग्यास आपूर्तिलाई पुनर्स्थापित गर्न कदम चाल्ने बताएको छ।

बल्गेरिया ९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि ग्याजप्रोममा निर्भर रहेको छ।

रुसी ऊर्जा कम्पनी ग्याजप्रोम

रुसी ऊर्जा कम्पनी ग्याजप्रोम

उसले वैकल्पिक स्रोतहरू खोज्न कदम चालेको तर ग्यास खपतमा तत्काल कुनै खाले प्रतिबन्ध आवश्यक नभएको बताएको छ।

उक्त देशको ऊर्जा मन्त्रालयले बल्गेरियाले ग्याजप्रोमसँग हालको सम्झौता अन्तर्गत आफ्नो दायित्वहरू पूरा गरेको र सबै आवश्यक भुक्तानीहरू गरेको जनाएको छ।

उसले रुसले प्रस्ताव गरेको नयाँ भुक्तानी प्रणालीले विद्यमान सम्झौता उल्लङ्घन गर्ने उल्लेख गरेको छ।

विकल्पको खोजी
ग्यास आपूर्ति बन्दको खबरसँगै पोल्यान्डको जलवायु मन्त्रालयले देशको ऊर्जा आपूर्ति सुरक्षित रहेको बताएको छ।

जलवायुमन्त्री अन्ना मोस्कवाले भण्डारबाट ग्यास निकाल्न आवश्यक नरहेको र ग्राहकले पनि ग्यास खपत कटौती गर्नु नपर्ने बताउनुभयो।

पोल्यान्डका उपविदेशमन्त्री मार्चिन सिड्याचले उहाँको देशले रुसबाट हुने ग्यास निर्यात सीमित हुनसक्ने सम्भावनाका लागि तयार रहन आपूर्तिमा विविधीकरणको तयारी गरिरहेको बताउनुभएको छ।

सिड्याचले बीबीसीसँग अहिलेको अवस्थासँग आफूहरू जुझ्न सक्ने अवस्थामा रहेको बताउनुभयो।

रुसमाथि कस्ता प्रतिबन्ध लगाइँदैछ ?

त्यस्तै रुस कुनै पनि व्यापारका लागि भरपर्दो साझेदार नभएको भन्दै उहाँले जर्मनीलाई पनि रुसी ऊर्जा आयातमा लगाइने प्रतिबन्धमा साथ दिन आग्रह गर्नुभएको छ।

पोल्यान्डले उक्त रुसी कम्पनीसँगको लामो सम्झौताको अवधि सकिएसँगै यसै वर्षको अन्त्यदेखि रुसी ग्यास आयात रोक्ने योजना बनाइरहेको छ।

युरोपेली सङ्घमा आयात हुने कुल प्राकृतिक ग्यासमध्ये रुसबाट हुने आपूर्तिले करिब ४० प्रतिशत हिस्सा ओगट्छ।

यद्यपि युक्रेनमाथिको आक्रमणको जवाफमा धेरै देशहरूले रुसी ऊर्जा निर्भरताबाट टाढिने वाचा गरेका छन्।

अमेरिकाले रुसी तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

ब्रिटेनले यसै वर्षको अन्त्यसम्ममा रुसी तेल आयात अन्त्य गर्ने र ग्यास आयातलाई पनि सकेसम्म चाँडो अन्त्य गर्ने बताइसकेको छ।

त्यस्तै ईयूले पनि रुसी ग्यास आयातलाई दुई तिहाइले घटाउँदैछ।

Share Now

Leave a comment.