सानेपा(ललितपुर), २८ आषाढ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृृत्वमा गठित गठबन्धन सरकारको एक बर्ष उपलब्धिपूर्ण भको नेपाली कांग्रेसले दावी गरेको छ ।
नेपाली कांग्रेसको जारी केन्द्रीय बैठकको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि देशमा कानूनी राज्य कायम भएको, सरकारले कारोनाविरुद्धको खोपको सुव्यवस्थापन गरी जनताको जीवन रक्षा गरेको ,भ्रष्टाचारका काण्डहरु रोकिएको र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति अबलम्बन गरी नेपालको साःख अभिबृद्धि गरेको दावी गर्नुभयो ।
‘एक वर्षको अनुभव छ, सरकार सन्तोषजनक ढंगले चलेको छ। कतिपय उपलब्धीहरु पनि यो सरकारले हासिल गरेको छ। कोभिडको कत्रो चाहिँ ब्यापक प्रकोप थियो। ओलीजीको सरकारको पालमा। पछि चाहिँ भ्याक्सिनेसन ल्याएर सहज जीवन भएको छ। हामी चाँडै बिर्सिन्छौं’कांग्रेस प्रवक्ता महतले भन्नुभयो, ‘त्यस्तै गरेर ठूलो भ्रष्टाचार, एक पछि अर्को काण्डै काण्ड भएको अवस्था थियो। त्यो रोकिएको छ।’
प्रवक्ता महतले एमसीसीको अनुदान संझौता संसदबाट पारित हुनुलाई पनि सरकारको ठूलो उपलब्धिको रुपमा ब्याख्या गर्नुभयो।
उहाँले भन्नुभयो, ‘त्यस्तै गरेर वैदेशिक नीतिमा अन्योलता थियो। यो एमसीसी एमसीसी भनेर त्यसैलाई चाहिने विभिन्न किसिमबाट त्यसलाई विशेषण दिने काम भैराख्याथ्यो। त्यो सुस्पष्ट भएर पारित भाको छ। र एउटा सन्तुलित नेपालको आवश्यकता र स्वार्थमा आधारित विदेश नीति सञ्चालन भको छ ।’
उहाँले गठबन्धन सरकारले शान्तिपूर्ण,निश्पक्ष र धाँधलीरहित वातावरणमा स्थाीय तहको निर्वाचन सम्पन्न गराउने वातावरण तयार पारेर लोकतन्त्रलाई मजबूत गराउने सफलता हासिल गरेको पनि बताउनु भयो ।।
उहाँले सरकारको नेतृत्व गर्ने पार्टी र पूर्ववर्ति ओली सरकारबाट राजनीतिक दल र नागरिकहरुले सोचेअनुसार काम हुन नसकेपनि सरकारको एक वर्ष उपलब्धिमूलक भएको दावी गर्नुभयो।
सर्वोच्च अदालतको आषाढ २८ गतेको परमादेशले गतवर्ष असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो।