काठमाडौं, १५ भाद्र । नपालको शेयर बजारको ओरालो यात्रामा ब्रेक लाग्ने छाँटकाट छैन । बुधबार पनि धितोपत्र बजार परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको छ।
यस दिन २ सय २४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ वटै उपसमूहका उपपरिसूचकहरु ओरालो लागेका छन् ।
समग्र शेयर बजार घटे पनि यस दिन १५ कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । यसरी बढ्ने कम्पनीहरु मध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्तको १.६१ प्रतिशत,गणपति लघुवित्तको १.४० प्रतिशत,दोर्दी हाइड्रोपावरको १.२५ प्रतिशत र मैलुङ खोला जलविद्युतको १.१८ प्रतिशतले बढेको छ। त्यस्तै प्राइम कमर्सियल बैंक डिबेञ्चर ८५, एनआईबी डिबेञ्चर र सामुदायिक लघुवित्तको पनि शेयर मूल्य अघिल्लो दिनको भन्दा बढेको छ ।
यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ भने अपर सोलु हाइड्रोपावरको ५.२२ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ५.१९ प्रतिशत,रिलायन्स फाइनान्सको ५.१२ प्रतिशत र खानी खोला हाइड्रोपावरको ५.०७ प्रतिशतले घटेको छ। यस्तै यस दिन खानी खोला, श्वेत गंगा, बलेफी हाइड्रोपावर, श्री इन्भेष्टमेण्ट फाइनान्स, घलेम्दी र हिमालयन हाइड्रो पावर कम्पनी रहेका छन
।
बुधबार नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको ६ करोड ४० लाख, राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख, नेश्डो लघुवित्तको ३ करोड २५ लाख र शिवम् सिमेन्टको ३ करोड ६ लाख रुपैयाँको, नबिल बैंकको २ करोड ८२ लाखको, अरुण काबेली पावर लिमिटेडको २ करोड ६८ लाखको, हिमाल दोलखा हाइड्रो पावरको २ करोड ५८ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ५१ लाख र अपि पावरको २ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ।