मन्थली(रामेछाप), १८ माघ । रामेछापको उमाकुन्ड गाउँपाालिका वडा नं.१ गुम्देलमा विगत तीन दिनदेखि भिषण डढेलो लागेको छ । गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने उक्त घनाजंगलमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु तीन दिनदेखि प्रयास गरिरहेका छन् ।
गुम्देलको चामरुको जंगलबाट डढेलो शुरु भएको थियो । अहिले जंगलको ठूलो क्षेत्रमा आगो फैलिएको स्थानीय प्रदीप बस्नेतले जानकारी दिनुभयो ।
घनाजंगलमा लागेको डढेलो नियन्त्रणको प्रयास भए पनि सम्भव नभएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर पराजुलीले बताउनुभयो ।
अहिले डढेलो बस्ती नजिक पुग्न लागेको स्थानीयहरुले बताएका छन् ।
डढेलो लागेको गुम्देलको उक्त क्षेत्रमा ३२ परिवारको बासेबास रहेको छ । डढेलो लागेको क्षेत्रमा चौंरी गोठहरु समेत रहेको स्थानीय तेम्बा शेर्पाले बताउनुभयो ।
उक्त क्षेत्रमा दुलर्भ मानिएको रेडपाण्डा पनि रहेको स्थानीयहरु बताउँछन् ।
डढेलो नियन्त्रणमा आउन नसकेकाले सुरक्षित स्थानमा जान गुम्देलको वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको वडा अध्यक्ष ङावा तिण्डु शेर्पाले जानकारी दिनुभएको छ । कठिन भुबनोट, भिरपाखा तथा घना जंगल र हावा लागिरहेकाले डढेलो नियन्त्रणका लागि गरिएका प्रयासहरु सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
डढेलोका कारण चामरु, बाल्दिङ्ग, ज्याम्दे, च्यार्सा लगायतका बस्तिहरु खतरामा परेका छन् । उच्च लेकाली क्षेत्रको घना जंगलमा लागेको आगोका कारण महत्वपूर्ण मानिएका जडिबुटीदेखी लिएर दुर्लभ बन्यजन्तु समेतको ठूलो क्षति भएको अनुमान गरिएको छ ।
उक्त क्षेत्रमा पाइने बन्यजन्तु र बनस्पति तथा विभिन्न औषधिका लागि महत्वपूर्ण मानिएका जडिबुटीहरुको ठूलो क्षति भएको भोर्जुङ्ग सामुदायिक वनका अध्यक्ष फुरी लामाले बताउनुभयो ।


















