काठमाडौँ, १८ माघ । आयोडिनयुक्त नुनको थप प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आज मनाउन सुरुआत गरिएको छ।
नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो। नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाउने गरिएको छ।
विशेषगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित सम्बन्धित निकायका सहकार्यमा आयोडिनको कमीले हुने विकृतिलाई निवारण गर्न जनचेतनामूलक कार्यक्रम गरिरहेको छ।
यस वर्षको नारा ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने रहेको कर्पोरेशनले जनाएको छ।
हाल आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरुमध्ये ‘भिजिबल गोइटर’ समुदायमा नदेखिएको कर्पोरेशनले जनाएको छ। सन् १९८६ मा सो विकृति ४४.२ प्रतिशत रहेकामा सन् २००७ मा ०.४ प्रतिशतमा झार्ने सफलता मिलेको थियो। सरकारले दिएको निर्देशनअनुसार कर्पोरेशनले आयोडिनयुक्त नुनको आपूर्ति गरिरहेको छ।
सरकारले उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर सङ्ख्या शतप्रतिशतमा पुर्याउने नीति लिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेअनुसार हाल ९१.० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरिरहेका छन्।
यसैगरी सन् २०१६ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेका छन् । “अतः यस उपलब्धिलाई जोगाइराख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ”, कर्पोरेशनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा कर्पोरेशनले आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका विषयमा जनचेतनामूलक कार्यक्रमबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य संस्था, विद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्ष राख्ने, जस्ता गतिविधि महिनाभर सञ्चालन गर्ने जनाएको छ।
सरकारले देशभर आयोडिनयुक्त नुनको आपूर्तिको जिम्मेवारी कर्पोरेशनलाई दिएको छ। कर्पोरेशनले ग्रामीणस्तरसम्म आयोडिनसम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिह्न अङ्कित ‘पाकेट’ नुन सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ।
विगत ५९ वर्षदेखि कर्पोरेशनले नुनको आपूर्ति गरिरहेको छ। आयो, न्यु शक्ति, तेज र भानु नुन प्याकेटमा बिक्री गरिरहेको कर्पोरेसनले वार्षिक दुई लाख मेट्रिक टन नुन कारोबार गर्ने जनाएको छ।
सोही अवसरमा आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ झोला, स्कुल झोला, टी–सर्ट तथा पम्प्लेटजस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाइने कर्पोरेशनले जनाएको छ। ती टोलीले ती स्थानमा उक्त अवसरमा आयोडिनको महत्त्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्नेछन्। रासस


















