
धनगढी(कैलाली),१७ चैत्र । धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो सिजनको उद्घाटन खेलमा टीम चौराहा धनगढीले काठमाडौं गोल्डेन्ससामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
धनगढीको एसपीए मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको चौराहाले बिष्फोटक शुरुवात गरेको थियो ।
पहिलो विकेटका लागि सुनिल धमला र पुनित मिश्राले ५५ रनको साझेदारी गर्दै काठमाडौंको बलिंगलाई जवाफबिहिन पारेका थिए ।
पावरप्लेको अन्तिम बलमा पुनित मिश्रा (९) आउट भएसंगै चौराहाले पहिलो विकेट गुमाएको थियो ।
काठमाडौंलाई पहिलो सफलता दिलाउने क्रममा राशिद खानले पुनितलाई ललित राजबंशीको हातबाट क्याच आउट गराएका थिए ।
टिम चौराहा धनगढीको इनिंगमा सुनिल धमलाले उत्कृस्ट ब्याटिंग गरे । प्रतियोगिताको पहिलो अर्धशतक जोड्ने क्रममा सुनिलले ५७ बलमा ६८ रनको इनिंग खेले । उनको इनिंगमा ८ चौका र २ छक्का समाविष्ट थियो ।
दोस्रो विकेटका लागि धमलाले शंकर रानासंग ७१ रनको साझेदारी गर्दै चौराहालाई ठूलो स्कोर तर्फ लैजाने प्रयास गरेका थिए । तर शंकर राना व्यक्तिगत ३६ रन जोड्दै आउट भएसंगै चौराहले लगातार विकेट गुमाउन पुग्यो ।
साहब आलम ‘म्यान अफ द म्याच’
खेलमा काठमाडौं गोल्डेन्सका साहब आलमले ह्याट्रिक प्राप्त गरे ।
उनको ह्याट्रिकको शिकारमा सोमपाल कामी, सुनिल धमला र राजेश पुलामी परेका थिए।
पहिलो इनिड.मा नै ह्याट्रिक गरेका काठमाडौं गोल्डेन्सका साहब आलम ‘म्यान अफ द म्याच’ घाषित भए ।
उनलाई रु १० हजार नगद र टफिले सम्मानित गरियो ।
खेलमा राशिद खान, सन्नी पटेल र किशोर महतोले समान १/१ विकेट लिएका थिए ।
प्रशिक्षकद्धयलाई सम्मान
धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटन समारोहमा पुर्व घोषित निर्णय अनुसार प्रशिक्षक अरुणकुमार अर्याल र राजु खड्कालाई सम्मानित गरिएको छ ।
प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीले अरुणकुमार अर्याललाई “अर्जुन खड्का स्मृति सम्मान” र राजु खड्कालाई “धनगढी क्रिकेट सम्मानित” विधाबाट सम्मानित गरेको हो । दुबैलाई समान १/१ लाख रुपैंया र ताम्रपात्रसहित सम्मानित गरिएको छ ।
“अर्जुन खड्का स्मृति सम्मान” पुरस्कार धनगढी क्रिकेट एकडेमीका करिब २ वर्ष अगाडी निधन भएका स्वर्गीय प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रदान गरिएको हो भने “धनगढी क्रिकेट सम्मान” नेपालका पुर्व खेलाडीहरुलाई प्रदान गरिने सम्मान रहेको छ ।
अरुणकुमार अर्यालले पछिल्लोपल्ट सन् २०१४ को एसियाली खेलकुदमा नेपाली महिला क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरेका थिए भने राजु खड्काले सन् २००४ मा नेपालका लागि अन्तिम खेलेका थिए । तर करिब १२ वर्षदेखि चितवनमा चितवन क्रिकेट एकेडेमी चलाईरहेका छन् जसको उत्पादन सन्दिप लामिछाने अहिले विश्वमा नै चर्चित भारतको घरेलु क्रिकेट प्रतियोगिता आईपिएलमा डेब्यु गर्ने तयारीमा रहेका छन् ।