क्लेअर प्रेस र स्वेटलाना लिबेट / बीबीसी विश्व सेवा
किएभ(युक्रेन), २७ फागुन । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको तेस्रो दिन स्याटलाइटमा १५.१ किलोमिटर लामो आक्रमण गर्न सक्ने गाडीहरूको लस्कर देखियो।
त्यसै दिन बिहान युक्रेनको राजधानी किएभको उत्तरतर्फ रहेको बुचा सहरस्थित एउटा स्थानीय सुपर मार्केट बाहिर उभिएका ६७ वर्षका भोलोदिमिर सबनीनले एक सयभन्दा बढी गाडीहरू प्रवेश गरेको देखे।
युक्रेनको राजधानीमा बल प्रयोग गरेर सरकार अपदस्थ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनाको सुरुवाती चरणको भोलोदिमिर र स्याटलाइट प्रत्यक्षदर्शी थिए। सैन्य भाषामा भन्नुपर्दा — शिरच्छेदन आक्रमण।
४८ घन्टा पश्चात् सन् २०२२को फेब्रुअरी २९ तारिखमा ती सवारी साधनको लावालस्कर ५६ किलोमिटर लामो भइसकेको थियो। तर छिट्टै विजयी हुनतर्फ उद्धत हुनुको साटो त्यो लावालस्कर हप्तौँसम्म रोकिन पुग्यो। त्यसपछि रातारात ती गाडीहरू हराए। भएको के थियो त? अनि त्यत्रो व्यापक फौज कसरी किएभ पुग्न असफल भयो?
red line
बीबीसीको एक टोलीले सैन्य अधिकारीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुप्तचर सेवाहरू, सर्वसाधारण, अनुभवी व्यक्तिहरू अनि क्षेत्रीय रक्षासँग सम्बन्धित अधिकारीहरूसहित दर्जनौँ व्यक्तिहरूसँग कुराकानी गरेको छ जसले गाडीहरूको उक्त लस्कर देखेका थिए।
उक्त टोलीले ती सवारीसाधनको योजनामा प्रकाश पार्ने रुसी नक्सा अनि दस्ताबेजहरू पनि प्राप्त गरेको छ र त्यो योजना किन विफल भयो भन्ने कुराबारे पनि जानकारी प्राप्त गरेको छ।

गत वर्ष स्याटेलाइटबाट देखिएको गाडिहरूको लस्कर © 2022 Maxar Technologies
कथाको सुरुवात बेलारुसको उत्तरतर्फ रहेको युक्रेनी सीमाबाट सुरु हुन्छ।
उक्त दिन युक्रेनको ८०औँ एअर असल्ट ब्रिगेडमा कार्यरत २३ वर्षका भ्लाडिस्लाभ चुरोट पिउन बाहिर निस्किएका थिए। रातको समयमा उनले एकाएक उत्पन्न भएका चम्किला बत्तीहरू देखे।
”पूरै बनमा बत्ती बलेको देखेको म सम्झन्छु। सुरुमा मैले ती कारका हेडलाइट रहेको ठाने। तर पछि ती ग्रयाड्स (सेल्फ-प्रोपेलर मिसाइल) रहेको थाहा पाएँ। उनीहरूले हामीमाथि आक्रमण गरिरहेका थिए।”
रुसको पहिलो गाडी युक्रेन छिर्दा चर्नोबल एक्सक्लुजन जोनको जङ्गलमा तैनाथ भ्लाडिस्लाभको टोलीले गस्ती गरिरहेको थियो।
”पुरै धर्ती हल्लिरहेको थियो। के तपाईँ कहिल्यै ट्याङ्कमा चढ्नु भएको छ? त्यस्तो आवाज अरू केहीको हुँदैन। यो एक शक्तिशाली चीज हो।”
आक्रमणका बेला गर्ने भनेर तय गरिएको पूर्ववत् योजनाबमोजिम उनको टोलीले चर्नोबल र अर्को ठूलो सहर आइवान्किभ जोड्ने एउटा पुल ध्वस्त पारिदियो।
त्यसले रुसीहरूलाई आकस्मिक रूपमा निर्माण गरिने पन्टुन पुल बनाउन बाध्य पार्यो जसले गर्दा भ्लाडिस्लाभ र उनको टोलीले किएभ पुग्ने समय प्राप्त गरे।
”हामीले चर्नोबलमै उनीहरूलाई किन रोकेनौँ भनेर सुरुमा त म आश्चर्यमा परे? तर हामीले हाम्रा दुश्मनबारे जान्न जरुरी थियो। त्यसैकारण हामीले त्यस्तो कार्य गर्यौँ।”
बेलारुससँगको सीमा नजिकै भएकोले युक्रेनी सेनाले आक्रमण सुरु गर्दा अर्को तनाव थपिन सक्नेहुँदा जोखिम उठाउन सक्ने अवस्था थिएन।
आफ्ना सेनालाई अग्रपङ्क्तिमा खटाउनु पूर्व उनीहरूको प्राथमिकता रुसको युद्ध योजना जान्नु थियो।
पुटिनको गुरु योजना
युक्रेनी शस्त्र सेनाका अनुसार त्यस बेला सञ्चारमाध्यमहरूले प्रकाशन गरेका कैयौँ विवरणहरूभन्दा फरक ५६ किलोमिटर लामो गाडीहरूको लस्कर खासमा रुसका १० वटा रणनीतिक बटालियन इकाइहरू थिए।
बीबीसीले हेरेको एक रुसी दस्ताबेजले आक्रमणको तालिका देखाउँछ।
फेब्रुअरी २४ तारिखमा बिहानको चार बजे युक्रेन पुग्ने पहिलो बटालियनलाई सिधै किएभतर्फ अघि बढ्न निर्देशन दिइएको थियो। त्यहाँ दिनको २ बजेर ५५ मिनेटमा पुग्ने योजनामा उल्लेख थियो।
एउटा पुल ध्वस्त भएपछि गाडीहरूको लस्कर गोलाकारमा घुमेको देखेको बताँउदै एक जना सेवा निवृत्त सैन्य अधिकारी

आक्रमण दुईवटा तत्त्वमा धेरै हदसम्म निर्भर थियो – गोपनीयता अनि गति।
रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्यूट (आरयूएसआई)का अनुसार राजधानीमा आक्रमण गर्ने योजना गोप्य राखेर रुसी सेनाले किएभको उत्तरतर्फ युक्रेनी बललाई १२ बजेर १ मिनेटसम्ममा उछिन्ने अनुमान गरिएको थियो।
तर पुटिनले कायम गरेको यो गोपनीयता रुसका लागि महँगो साबित भयो।
त्यो सूचना यति गोप्य थियो कि आक्रमण सुरु भएको २४ घन्टासम्म उनका कैयौँ कमान्डरहरूले के गर्ने भन्ने कुराबारे निर्देशन प्राप्त गर्न सकेनन्।
रणनीतिक स्तरमा यसले रुसीहरूलाई कमजोर बनायो। उनीहरूसँग खाद्यान्न, इन्धन र नक्साको अभाव थियो।
उनीहरूसँग उपयुक्त सञ्चार उपकरण र पर्याप्त हातहतियार थिएनन् र उनीहरू जाडो मौसमका लागि पनि तयार थिएनन्।
हिउँ पर्दा आवश्यक पर्ने गाडीका टायरहरू नभएका कारण रुसी सेनाले आफ्ना गाडी नियन्त्रण गर्न सकिरहेका थिएनन् र हिलोमा फसेका थिए।
आइवान्किभ नजिकैका सर्वसाधारणहरूका अनुसार रुसी सेनाले युक्रेनका किसानहरूलाई उनीहरूका ट्याङ्क हिलोबाट निकाल्न सहयोग गर्न भनेका थिए।
रुसका गाडीहरू कालोपत्रे गरिएका सडकहरू मात्र प्रयोग गर्न बाध्य हुँदा हजारौँ एउटै लस्करमा हिँड्न बाध्य भए।
तर बटालियनहरूबीच सीमित सञ्चारका कारण उनीहरू आफै जाममा फस्न थाले।

सन् २०२२को फेब्रुअरी देखि मार्चसम्म गाडीहरूको लस्करले तय गरेको यात्राको नक्सा
गाडीहरूको लस्कर ५६ किलोमिटर लामो हुँदा त्यसमा १,००० सम्म ट्याङ्क, २,४०० वटा मेकनाइज्ड इन्फ्यान्ट्री गाडीहरू अनि १०,००० सैन्य अधिकारीहरू थिए।
त्यस्तै खाद्यान्न बोकेका ट्रक, इन्धन, तेल अनि गोलिगठ्ठा बोकेका गाडीहरू पनि सवारीको लस्करमा समावेश थिए।
एकीकृत प्रतिरोध
किएभको उत्तरमा खाद्यान्न र इन्धनको अभावका कारण रोकिएका रुसी सेनाले आफ्ना प्रतिद्वन्द्वीलाई कम आँकेका थिए।
भोलोदिमिर सबनीन र अधिकांश निवृत्तिभरणमा आश्रित स्वयंसेवकहरूले तीन दिन देखि बुचामा रुसी सेनाको लस्करको प्रतीक्षा गरिरहेका थिए।
प्रत्येक १२ जनामा एक जनाले ‘मसिन गन’ बोकेका स्थानीय बासिन्दाहरूले सडकका सबैजसो सङ्केतहरू निकालिदिए। उनीहरूले चेक पोइन्टहरू बनाए र हजारौँ पेट्रोल बम बनाए।
अन्ततोगत्वा आइतवार बिहान रुसी ट्याङ्कहरू उक्त सहरमा पुगे।

बम आक्रमणमा परेको एउटा कार्यालय अघि उभिएका स्थानीय स्वयम्सेवी
भोलोदिमिर र सर्वसाधारणहरू समावेश उनको टोली झन्डै तीन मिनेट आफूहरूसँग भएका थोरै सामग्रीले ट्याङ्कहरूसँग भिडे।
”हामीले दुई वटा गाडीमा आगजनी गर्यौँ र पुरै लावालस्करलाई सुस्त बनाइदियौँ,” भोलोदिमिरले भने।
तर त्यसपछि भने उनीहरूले प्रतिरोधको सामना गर्नुपर्यो।
”बोतल फ्याँकेको देखेपछि उनीहरूले हामीमाथि आक्रमण गर्न थाले,” ३० वर्षीय म्याक्सिम स्कोरोपरले भने। ”म बारमा काम गर्थेँ। मैले कुनै पनि प्रकारको सैन्य तालिम लिएको थिइनँ।”
आधा घन्टासम्म चलेको भिडन्तको अन्त्य हुँदासम्म भोलोदिमिरको टोलीमा रहेका सबै जनालाई गोली लागेकाले अस्पताल पुर्याइयो।
सैन्य शिविरमा बिरामीका लागि तयार पारिने स्थानमा बस्दासमेत भोलोदिमिर युद्धमा डटिरहे। रुसी गाडीहरूको लस्कर कहाँ कहाँ देखियो भन्ने कुरा बारे जानकारी सर्वसाधारणबाट लिएर त्यसलाई पुनः पुष्टि गर्दै उनले युक्रेनका सरकारी निकायहरूलाई त्यसबारे जानकारी गराइरहे।
इर्पिनका उप गभर्नर २३ वर्षका रोमन पोहोरिलीलले पनि अर्को खेमाबाट नेतृत्व सम्हालिरहेका थिए।
”हामी तीन दिन सुतेनौँ। म र मेरा सहकर्मी परिषद्को कार्यालयमा बसेर हटलाइनको व्यवस्थापनमा जुट्यौँ,” उनले भने।
काउन्सिलर मात्र नभएर रोमनले अर्को भूमिका पनि निर्वाह गर्ने गर्छन्।

रोमन पोहोरीलील
उनले सर्वसाधारण वा अन्य सार्वजनिक स्रोतमार्फत् सूचना सङ्कलन गर्ने गर्छन् जसको प्रयोग सुरक्षा मामिला सम्बन्धी विज्ञ, देशका गुप्तचर निकाय लगायतले गर्न सक्छन्।
डीपस्टेट नाम रहेको ख्यातिप्राप्त वेबसाइटमार्फत् उनी गोप्य सूचना र सामाजिक सञ्जालका गतिविधि नियाल्छन्। ती सूचनालाई ‘जियोलोकेट’ गरेर उक्त वेबसाइटमा राख्ने गर्छन्।
‘युक्रेनलाई ध्वस्त पार्न असफल पुटिन रुसलाई ध्वस्त पार्न सफल’
शक्तिशाली ट्याङ्क जुटाउने प्रयासमा युक्रेन, के हुन् तिनका विशेषता
”किएभ जाने बाटोमा रुसीहरूले सामाजिक सञ्जालमा भिडियोहरू पोस्ट गरिरहेका थिए। हामीले उनीहरूको गतिविधि पर्दाफास गर्न भिडियोहरू पुनः पोस्ट गरेका थियौँ। उनीहरूले देखावटी मात्र गर्न चाहेका थिए, तर त्यस्तो गर्दा उनीहरूको पर्दाफास भयो।”
तर रोमनका अनुसार किएभमाथि आक्रमण हुँदा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको एकताबद्ध युक्रेनको भावना थियो।
,
खाद्यान्न वितरण गर्दै युक्रेनी स्वयम्सेवी
”सबैले केही न केही गरिरहेका थिए। पहिलो केही दिन निकै व्यस्त थियो भन्ने कुरा म स्वीकार गर्छु। तर सेवा निवृत्त सैन्य अधिकारीहरूले आम सर्वसाधारणहरूलाई सहयोग गरिरहेका थिए। सबैले आफ्नो सहरको रक्षा गर्न चाहेका थिए।”
किएभका सबै क्षेत्रमा अवस्थित सहर अनि गाउँहरूमा रुसी गाडीहरूमाथि सयौँ आक्रमण भएका थिए।
पुरानो रणनीति
युक्रेनीहरूभन्दा विपरीत रुसी दस्ताले युद्ध भूमिमा पटक पटक गतिशील निर्णयहरू लिन असमर्थ बनेको थियो।
”रुसीहरू सबैले धातुको ठूलो बक्साहरू बोकेका थिए जुन ‘गोप्य’ भनेर अङ्कित गरिएको थियो,” ८०औ ब्रिगेडका भ्लाडिस्लाभले भने।
”हामीले आक्रमणका क्रममा एउटा बक्सा जफत गर्यौँ। हामीले उनीहरूको पुरै यात्रा गन्तव्य उल्लेख गरिएको नक्सा फेला पार्यौँ। त्यसपछि हामीलाई उनीहरूको सबै रणनीति थाहा भयो।”
पुटिनले कायम गरेको गोपनीयताका कारण युद्धभूमिमा खटिएका रुसी सैन्य कमान्डरहरूलाई युद्धको बृहत्तर योजनाबारे जानकारी थिएन।
उनीहरूको ‘न्याभिगेसन’ उपकरणहरू पनि निकै पुराना थिए। आक्रमण सुरु भएयताको एक वर्षमा रुसी सेनाले छाडेर गएका नक्साहरू बीबीसीले प्राप्त गरिरहेको छ।
सन् २०२३ मा युक्रेन युद्धको स्वरूप कस्तो होला?
युक्रेन युद्धः शल्यक्रिया गरेर निकालियो मुटुको छेउमै गाडिएको ग्रिनेड – BBC News नेपाली
ती नक्सा १९६० र १९७०को दशकका हुन्। उनीहरूले प्रयोग गरेको नक्सामा हुँदै नभएका सहरहरू युक्रेनमा थिए।
हामीले ‘सेमाफो’ झण्डाहरू पनि फेला पार्यौँ जुन सैन्य दस्ताबीच कुराकानी गर्ने निकै पुरानो तरिका हो। त्यस्ता झण्डा वा अन्य वस्तुलाई टाढाबाट देखाएर साङ्केतिक सञ्चार स्थापित गर्ने गरिन्छ।
युक्रेनीहरूले प्रयोग गरेको एउटा सफल रणनीति भनेको रुसी गाडीहरू सवार हुने बाटोमा पर्ने पुल अनि बाँधहरू विस्फोट गर्नु थियो। त्यसले रुसीहरूलाई अर्को बाटोबाट अघि बढ्न बाध्य पारेको थियो।
पुरानो नक्सा अनि उच्च सैन्य अधिकारहरूसँगको सीमित सञ्चारमा भर पर्न बाध्य रुसी सैन्य दस्ता पटक पटक अनिर्णयका कारण केही गर्न नसक्ने अवस्थामा पुगेका थिए।
कैयौँ स्याटलाइट तस्बिरहरूले रुसी गाडीहरू गोलाकार बनाएर घुमिरहेको देखाउँथे।

स्याटलाइटमार्फत् देखिएको गाडीहरूको लस्करको तस्बिर
युक्रेनी हवाई अनि तोप आक्रमणले रुसीहरूलाई दबावमा पार्दै किएभको सीमाभन्दा केही बाहिर उनीहरूको सवारीलाई ठप्प पारिदिएको थियो।
रुसी सेना अघि बढ्न नसकेर बसेका स्थान आसपासका सर्वसाधारणका लागि त्यो कहाली लाग्दो समय थियो।
”उनीहरूले सबैतिरबाट सबै कुरा लुटपाट गरे। उनीहरूले पसलहरू रित्तो पारिदिए,” भ्लाडिस्लाभले भने। ”उनीहरूले मानिसहरूलाई ढालका रूपमा समेत प्रयोग गरेका थिए।”
किएभको पश्चिम र उत्तरतर्फ रहेका कैयौँ सहर अनि गाउँहरूमा के भएको थियो भन्ने कुरा अन्तर्राष्ट्रिय फौजदारी अदालत देखि युद्ध अपराधको प्रमाण खोजिरहेका कैयौँ निकायहरूले अझै अनुसन्धान गरिहरेका छन्।
”म चेकपोनइन्टमा भएको बेला सर्वसाधारणहरूका पछाडि बसेर उनीहरू (रुसी दस्ता)ले हामी माथि आक्रमण सुरु गरे। सर्वसाधारणहरू युद्धकोबीचमा फसेका थिए। त्यो निकै भयानक अवस्था थियो,” भ्लाडिस्लाभले भने।
चार हप्तापश्चात् अन्तत: त्यहाँबाट रुसीहरू पछाडि फर्कन थाले।
बाँकी रहेका दुई वटा ठूला बटालियन होस्टोमल विमानस्थल नजिकै पराजित भए। टेन्ट सहितका ३७० वटा सेनाका ट्रकहरू डीभिजहिभ्का गाउँमा अलपत्र रूपमा छाडिएका थिए। ती ट्रकहरूलाई तोपले नष्ट पारिदिए।
मार्च १९ तारिखसम्म युक्रेनी सेनाले उनीहरूलाई पछि ठेल्दै लगैको थियो। त्यसपछि रुसीहरू किएभ अब्लास्ट क्षेत्रबाट पूर्ण रूपमा पछि हटे।

क्षतिग्रस्त रुसी सवारीसाधन
किएभमा फेरि आक्रमण हुनसक्ने अनुमानहरू गरिएको भए पनि बेलारुससँगको सीमा नजिकै ठूलो स्तरमा सैन्य दस्ता तैनाथ गरिएको नदेखिएका कारण त्यस्तो सम्भावना न्यून रहेको अधिकांश विज्ञहरू स्विकार्छन्।
रुसले औद्योगिक हिसाबले निकै महत्त्वपूर्ण पूर्वी डोनबास क्षेत्रमा दबाव दिने क्रम जारी राखेको छ। त्यस्तै दक्षिणतर्फ खेअर्सन , मलिटोपल अनि जापोरिज्या क्षेत्रमा आक्रमण जारी राखेको छ।
तर उत्तरतर्फ युक्रेनी सैन्य अधिकारीहरूले सीमा नजिक रिकनसेन्स ड्रोनको प्रयोग गरेर अवस्था नियालिरहेका छन्।
”चर्नोबलको त्यो रात म सधैँ सम्झिरहने छु,” भ्लाडिस्लाभ भन्छन्। ”म मेरा साथीसँग चुरोट पिउन बाहिर निस्केको थिएँ। मेरो चुरोट सकिँदा सम्ममा युद्ध सुरु भइसकेको थियो।”
”त्यस दिन जस्तै पालो पालो गरेर काममा जाने र हामीले अर्को चुरोट सक्काउँदासम्म युद्ध समाप्त भएको अनि युद्ध हामीले जितेको जानकारी प्राप्त गर्ने म र मेरो साथीको सपना छ।”
(विशेष धन्यवाद स्लाभा स्रामोभिच, मार्कुस बक्ली, माइकल उएलान, आलास्टीर थोम्प्सन, बेन एलन र टीम कोइ)


















