Prakash Adhikari November 6, 2023

विष्णु पोखरेल
काठमाडौं, २० कार्तिक (बीबीसी न्यूज नेपाली) । नेपालमा २०७२ सालको विनाशकारी भूकम्प गएयता चार म्याग्निट्युडभन्दा माथिका ७ सय ७० वटाभन्दा बढी भुँइचालोहरू गइसकेको सरकारी विवरणले देखाएको छ।

ती भूकम्पमध्ये अधिकांश २०७२ सालको गोरखामा केन्द्रबिन्दु भएको भुँइचालोका परकम्प भएको अधिकारीहरू बताउँछन्।

यद्यपि पश्चिम नेपाल तथा सुदूरपूर्वी क्षेत्रमा गएका कतिपय भुँइचालोहरू परकम्प नभएको उहाँहरूको भनाइ छ।

नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने र विशेषगरी पश्चिम नेपालमा विगत पाँच सय वर्षयता ठूलो भूकम्प नगएकाले त्यस क्षेत्रमा महाभूकम्पको सम्भावना कम नभएको विज्ञहरू बताउँछन्।

त्यसलाई ख्याल गर्दै सरकार र नागरिकहरूले समेत भूकम्पको क्षति कम गर्न पूर्वतयारी गर्नुपर्ने उनीहरूको सुझाव छ।

दोलखा र सिन्धुपाल्चोकमा सबैभन्दा धेरै भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विवरण अनुसार २०७२ सालयता दोलखामा सबैभन्दा धेरै चार म्याग्निट्युडमाथिका भुँइचालोहरू रेकर्ड गरिएका छन्।

उक्त जिल्लामा हालसम्म १ सय ८५ वटा त्यस्ता भूकम्पको मापन भएको केन्द्रको विवरणमा देखिन्छ।

दोलखापछि सिन्धुपाल्चोकमा सबैभन्दा धेरै भूकम्प गएका छन्। त्यहाँ हालसम्म चार म्याग्निट्युड माथिका कुल १ सय ६४ भुँइचालोहरू रेकर्ड गरिएका छन्।

त्यसबाहेक गोरखा भूकम्पका परकम्पहरू काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोट, रसुवा, काभ्रे, रामेछाप, मकवानपुर, कास्की, लमजुङलगायतका जिल्लाहरूमा पनि गएको केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारीले बताउनुभयो।

“पश्चिम र पूर्वी नेपालमा गएका ठूलाखाले केही भूकम्पबाहेक अरु सबै २०७२ सालको भुँइचालोकै परकम्पहरू हुन्,” उहाँले भन्नुभयो।

तर शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प भने २०७२ सालको भूकम्पको परकम्प नभएको उहाँले जानकारी दिनुभयो।

भूकम्प

हजारौँ परकम्प
विसं २०७२ सालको भूकम्पपछि विगत ८ वर्षमा हजारौँ परकम्पहरू गइरहेको अधिकारी बताउँछन्।

त्यसरी गएका परकम्पको सङ्ख्या हालसम्म ५६ हजार वटाभन्दा बढी भइसकेको छ।

“ती सबै परकम्पको विवरण हामी सार्वजनिक गर्दैनौँ। ती अध्ययनका लागि मात्र काम लाग्छन्। मानिसहरूले अनुभव गर्ने खालका ४ म्याग्निट्युडभन्दा माथिका भूकम्पको विवरण मात्र हामीले सार्वजनिक गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

यद्यपि कसैले अध्ययनका लागि मागेमा रेकर्ड भएका सबै विवरण उपलब्ध हुने उहाँले बताउनुभयो।

शुक्रवार राति जाजरकोटमा केन्द्रबिन्दु भएको भूकम्पकै ३ सय वटा जति परकम्प गइसकेको हाल जाजरकोटमै रहेका उहाँले बताउनुभयो।

“काठमाडौंमा त हामी एक म्याग्निट्युड र कहिलेकहीँ त्यो भन्दा कमका भूकम्पसमेत रेकर्ड गर्न सक्छौँ,” उहाँले भन्नुभयो, “बाहिर भने नेटवर्कका कारण त्यस्ता साना कम्पनहरू मापन नहुन पनि सक्छन्।”

विसं २०७२ सालको भूकम्प जाँदा नेपालमा २१ वटा मात्र भूकम्प मापन स्टेशनहरू रहेका थिए भने अहिले त्यस्ता स्टेशनहरू ४२ वटा पुगेका छन्।

केन्द्रले ती स्टेशनहरूबाट प्राप्त विवरणका आधारमा भूकम्पको रेकर्ड राख्ने गरेको छ।

भूकम्प
दोलखा र सिन्धुपाल्चोकमा किन धेरै भूकम्प?

खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक तथा भूकम्पविद् डा. सुधीर रजौरेका अनुसार ठूलो भूकम्प गएका क्षेत्र आसपासमा वर्षौँसम्म पनि साना भुँइचालोहरू जाने गर्छन्।

त्यसै क्रममा अहिले पनि गोरखा भूकम्पका परकम्पहरू आसपासका क्षेत्रमा गइरहेका हुन्।

विसं २०७२ सालको भूकम्पले सिन्धुपाल्चोक र दोलखामामा व्यापक क्षति पुर्‍याएको थियो।

रजौरे भन्नुहुन्छ, “दोलखा र सिन्धुपाल्चोक भनेका गोरखा भूकम्पको विस्थापन भएका क्षेत्र हुन् त्यहाँ स(सना धक्काहरू महसुस भइरहन्छन्।”

उहाँ नेपालको पश्चिमी क्षेत्रमा पनि अहिले बारम्बार भूकम्प गइरहेको र ती चाहिँ परकम्प नभएर नयाँ भुँइचालो नै भएको बताउनुहुन्छ।

नेपाल भूकम्पको जोखिम क्षेत्रमा रहेकोले त्यसबाट हुनसक्ने क्षतिबाट जोगिन अहिले नै ध्यान पुर्‍याउनुपर्ने उहाँको सुझाव छ।

उहाँ भन्नुहुन्छ, “भूकम्पलाई न रोक्न सकिन्छ न त्यसको भविष्यवाणी नै गर्न सकिन्छ तर त्यसको जोखिम त कम गर्न सकिन्छ नि त्यसैले हामीले अहिलेदेखि नै त्यतातर्फ ध्यान दिनु जरुरी छ।”

नेपालमा ठूला भूकम्प

विसं २०७२ सालअघिसम्म धेरैले नब्बे सालको भुँइचालो भनेर चिन्ने विसं १९९० सालको भूकम्पलाई नेपालको पछिल्लो समयको सबैभन्दा ठूलो भूकम्पका रूपमा लिने गर्थे।

त्यो भूकम्प अहिलेको आधुनिक मापन पद्धतिमा ८.० म्याग्निट्युडजति भएको आकलन गरिएको छ।

तर पहिला गएका ठूला भूकम्पबारे वैज्ञानिक तथ्याङ्क सहज रूपमा पाउन नसकिने हुनाले तिनको अध्ययन जटिल हुने भूकम्पविद्हरू बताउँछन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रले विसं २०७२ सालको भूकम्पलाई ७.६ म्याग्निट्युडको भनेको थियो।

यद्यपि त्यसलाई अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले अलिक भिन्न पद्धति अनुसरण गरेर ७.८ म्याग्निट्युडको मानेको थियो।

उक्त भूकम्प र त्यसका शक्तिशाली परकम्पमा परेर झन्डै ९ हजार जनाको मृत्यु भएको थियो र ठूलो भौतिक क्षति पनि भएको थियो।

नेपालका प्राचीन टिपोट र अभिलेखहरूको हालसम्मको अध्ययनले नेपालमा गएका भूकम्पमध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भुँइचालो विसं १२८० मा गएको भएको इतिहासकारहरूले बताउने गरेका छन्।

यद्यपि खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक रजौरे नेपालमा १०० वर्षअघिसम्मका भूकम्पको पनि वैज्ञानिक विधिबाट गरिएका मापनहरूको जानकारी नपाइने र अनुमान गर्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ।

नेपाल किन जोखिम क्षेत्रमा?

विसं २०७२ सालको भूकम्प गएपछि सङ्कलित तथ्याङ्क र अन्य प्रमाणका आधारमा भूकम्पको चिरा फुटेको मध्यरेखामा धेरै कम्पन भएको र चिरा फुटेको पूर्वी छेउमा कम्पन बढी केन्द्रित भएको निष्कर्षमा भूगर्भशास्त्री र अन्य वैज्ञानिकहरू पुगेका छन्।

तर पश्चिम नेपालमा सन् १५०५ पछि कुनै ठूलो भूकम्प नगएको र भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले त्यहाँ र भारतमा पनि ठूलो भूकम्पको जोखिम रहेको बताइन्छ।

भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ।

भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन्।

फल्टहरू
पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।

ूभारतीय चट्टान युरेशिएन चट्टानमा ठोकिने भएकाले यो क्षेत्र जोखिमयुक्त क्षेत्रमा परेको हो,ू रजौरेले भन्नुभयो।

उहाँका भनाइमा ती चट्टानहरू त्यत्तिकै चल्न सक्दैनन्। अड्किएरै बस्दा समयक्रममा तनाव उत्पन्न हुन्छ र त्यसक्रममा उब्जिएको ऊर्जा भूकम्पका रूपमा निस्कन्छ।

नेपालको जमिनमुनि पनि प्राविधिक भाषामा भनिने फल्ट लाइन वा जमिनमुनिका चिरा रहेकाले भूकम्पको सम्भावना बढी भएको हो।

फल्ट भनेको दुई वटा चट्टानहरू एकअर्कामा नजिक भएर सर्ने र त्यहाँ एकातर्फ एउटा ठोस भाग र अर्को ठोस भाग अर्कोतर्फ हुने अनि उनीहरू एक अर्कासँग नजिक भएर सर्ने प्रक्रिया भएको भूकम्पविद्हरूको भनाइ छ।

ती चट्टानहरू एकअर्काबीच निकै सुस्त गतिमा चल्ने गर्छन्। तर त्यसमा आउने अचानक हलचल वा फेरबदलले निकै ठूलो ऊर्जा उत्पन्न गराउँछ र ती चट्टानमा चिरा उत्पन्न भई भूकम्प आउँछ।

यो तुलनात्मक रूपमा सतहको नजिक हुन्छ किनकि पृथ्वीको केन्द्र भाग लेदोयुक्त र तरल स्वरूपमा हुन्छ।

भूकम्प

 

Share Now

Leave a comment.