क्वाललम्पुर(मलेशिया), २७ माघ । एसीसी महिला प्रिमियर कप २०२४ अन्तरगत भएको पहिलो खेलमा नेपाल विजयी भएको छ।
मलेसियाको क्वालालाम्पुरस्थित सालागंर टर्फ क्लबमा हंगकंगसंग भएको खेलमा नेपालले ८ विकेटको शानदार विजय निकालेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले हंगकंगबाट ९४ रनको लक्ष्य पाएको थियो ।
नेपालले सो लक्ष्य १४.१ ओभर खेल्दा २ विकेटको क्षतिमा ९५ रन जोडेर हासिल गरेको थियो ।
दोस्रो विकेटका लागि सीता रानामगर र कप्तान इन्दु बर्माले ५९ बलमा ७६ रनको साझेदारी गरेपछि नेपालले सहज जिततर्फ उन्मुख भएको थियो। टी २० आइमा नेपालका लागि भएको यो तेस्रो सर्वाधिक साझेदारी हो।
कप्तान इन्दु ३३ बलमा ३ चौका र १ छक्काको मद्दतले ४० रन बनाउँदा आउट भइन ।
सीता रानामगर ३६ र रुविना क्षत्री शुन्य रनमा अविजित रहे। सीताले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरेकी थिइन । उनले१५ औँ ओभरको पहिलो बलमा चौका प्रहार गरेर खेलको सुन्दर समापन गर्दै नेपाललाई विजयी बनाइन।
खेलमा नेपालले पहिलो विकेटको रुपमा तेस्रो ओभरको अन्तिम बलमा ओपनर कविता कुवँरलाई ४ रनमा गुमाएको थियो।
नेपाललाई रोक्ने क्रममा हङकङका लागि इक्रा सहर र चान का यिंग क्यारीले समान एकएक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको हो ।
हङकङका लागि कप्तान चान का यिंग क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन बनाइन् । यस्तै मर्यम बिबीले १९ बल खेल्दै सर्वाधिक १८ रन बनाइन् । यस्तै यास्मिन दस्वानीले २१ बल खेल्दै १५ रन बनाएकी थिइन ।खेलमा ओपनर नताशा माइल्सले १९ बलमा ११ रनको योगदान गरिन् । हङकङका अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
हंककंगलाई रोक्ने क्रममा नेपालका लागि रुबिना क्षत्रीले र पूजा महतोले २ २ विकेट लिए भने सीता रानामगर र कविता जोशीले समान एकएक विकेट लिए ।
एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन् । यस्तै सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कप खेल्ने छन् । नेपाल रहेको समूह डी मा हङकङ बाहेक माल्दिभ्स र भुटान रहेका छन् ।


















