Prakash Adhikari February 12, 2024

 

दोहा(कतार), २९ माघ (बीबीसी) । कतारमा पहिला मृत्युदण्डको फैसला सुनाइएका आठ भारतीय नागरिकलाई त्यहाँको एउटा अदालतले मुक्त गरिदिएको छ। उनीहरू भारतीय जलसेनाका पूर्वकर्मचारी हुन्।

उनीहरूलाई कुन अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो भन्ने आधिकारिक जानकारी कतारले दिएको छैन।

मुक्त भएकामध्ये सात जना भारत फर्किसकेको दिल्लीस्थित विदेश मन्त्रालयले सोमवार बताएको छ।

अधिकारीहरूले ती आठ जनालाई दिइएको मृत्युदण्डलाई कैद सजायमा रूपान्तरण गरिएको ज्यानुअरीमा बताएका थिए।

उनीहरू कतारस्थित दाहरा ग्लोबल नामक निजी कम्पनीमा कार्यरत थिए।

जलसेनाका आठ पूर्वअधिकारी पक्राउ परेपछि सन् २०२२ को सेम्टेम्बर महिनादेखि उक्त विषयबारे भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दै आएका छन्।

गत वर्ष मार्च महिनामा उनीहरूविरुद्ध मुद्दा चलेको थियो।

कतार र भारत दुवैले उनीहरू कुन अभियोगमा दोषी ठहर भएर सजाय पाएका थिए भन्ने खुलाएका छैनन्।

तर फाइनान्शल टाइम्स र समाचारसंस्था रोयटर्सका अनुसार ती आठ जनाविरुद्ध इजरायलका लागि गुप्तचरी गरेको अभियोग लगाइएको थियो।

यी भारतीये नागरिकहरूको मुक्ति र स्वदेशफिर्तीका लागि कतारका अमीरको निर्णयको हामी प्रशंसा गर्छौँ, भारतीय विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ।

ती आठ जनालाई कतारको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाउँदा भारत सरकारले आफू स्तब्ध भएको प्रतिक्रिया दिएको थियो।

विदेश मन्त्रालयले उनीहरूको जीवनरक्षा गर्न सबै कानुनी उपाय खोज्ने जनाएको थियो।

भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार सरकारले प्रधानमन्त्री कार्यालयमा कार्यरत एक वरिष्ठ कूटनीतिक अधिकारीको नेतृत्वमा उनीहरूलाई सहयोग उपलब्ध गराउने प्रयास गरेको थियो।

उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासप्राप्त ‍कूटनीतिज्ञ मानिन्छ। उहाँ सन् २०२० मा कतारमा भारतीय राजदूत नियुक्त हुनुभएको थियो ।

मृत्युदण्डको फैसलाविरुद्ध पछि पुनरावेदन गरियो।

भारतीय विज्ञहरूले कूटनीतिबाट नै यो विषयमा समाधान निस्किन सक्ने औँल्याएका थिए।

उनीहरूका अनुसार अदालती प्रक्रियाबाट सजाय नउल्टिए कतारका अमीरले क्षमादान दिन सक्ने सम्भावना भएको बताएका थिए।

घटनाबारे के थाहा छ?

ती भारतीय नागरिकहरू कार्यरत कम्पनीले कतारको जलसेनालाई उपलब्ध गराउने गरी एउटा पनडुब्बीसम्बन्धी कार्यक्रममा काम गरिरहेको थियो।

उक्त कार्यक्रमको उद्देश्य रेडार छल्न सक्ने पनडुब्बीहरू निर्माण गर्नु थियो।

त्यो कम्पनीमा ७५ भारतीय नागरिक कर्मचारी थिए। तीमध्ये अधिकांश भारतीय नौसेनाका पूर्वअधिकारी थिए। सन् २०२२ को मे ३१ मा उक्त कम्पनी बन्द भएको बताइएको छ।

मे महिनामा कतारले उक्त कम्पनी बन्द गर्ने आदेश दिएपछि त्यसका झन्डै ७० कर्मचारीलाई देश छाड्न निर्देशन दिएको थियो।

कतारको निजी सुरक्षा कम्पनीमा काम गर्ने ती आठ भारतीय नागरिकले कतारी जलसेनालाई विभिन्न तालिम दिन्थे।

उनीहरूलाई भारत र कतारबीच भएको सम्झौताअनुसार नियुक्त गरिएको बताइएको छ।

के कतारले भारतलाई कुनै सन्देश दिन खोजेको थियो?

कतार एउटा सानो तर प्राकृतिक ग्यासमा सम्पन्न देश हो। कतार अमेरिकाको निकटको सहयोगी पनि हो। तर हमाससँग गहिरो सम्बन्ध भएको आरोप कतारले खेप्नुपरेको छ।

इजरायल र हमासबीच चलिरहेको सङ्घर्षमा कतारको मध्यस्थताका कारण हालै दुई अमेरिकी बन्धक मुक्त भएका थिए। तर कतारको इजरायलसँग सम्बन्ध राम्रो छैन।

आधिकारिक रूपमा कतारले आठ भारतीयमाथि लागेका अभियोगबारे केही भनेको छैन।

तर उनीहरूले कतारमा बसेर इजरायलका लागि जासुसी गरेको आरोप लगाइएको ठानिएको छ।

केही महिनाअघि बीबीसी हिन्दीसँग कुरा गर्दै दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर वेस्ट एशियन स्टडीजका प्राध्यापक एके महापात्रले भन्नुभएको थियो, ूकतार भारतलाई इजरायल र प्यालेस्टाइनसम्बन्धी उसको नीति मन नपरेको सन्देश दिन चाहन्छ।ू

ूअक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि पश्चिम एशियामा ध्रुवीकरण बढ्न थालेको छ। एकतर्फ इरान, टर्की, कतार र केही हदसम्म पाकिस्तान छन् भने अर्कोतर्फ अरब देशहरू छन्।ू

उहाँले ओमान, कुवेत र अमेरिकाजस्ता देशको सहयोग लिन सक्ने बताउनुभएको थियो।

 

Share Now