गुयना(वेष्ट इण्डिज), १३ आषाढ (एजेन्सी) । आज आइसीसी टी २० विश्वकप २०२४ को दोस्रो सेमी फाइनलमा भारत र साविक विजेता इंग्ल्याण्ड भिड्दै छन् ।
खेल नेपाली समय अनुसार बेलुका ८ः१५ बजे गुयानामा सुरु हुनेछ ।
एक समय समूह चरणबाट बाहिरिने सम्भावना रहेको इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको थियो । समूह चरणमा ४ मध्य २ खेल जितेको इङ्ल्यान्ड अष्ट्रेलिया विरुद्ध पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
सुपर एट चरणमा भने इङ्ल्यान्डले दुई खेल जितेको थियो भने दक्षिण अफ्रिका विरुद्ध पराजित भएको थियो । अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनल पुगिसकेको छ।
सन् २०१० मा पहिलो उपाधि जितेको इङ्ल्यान्ड पछिल्लो २०२२ मा च्याम्पियन बनेको थियो। २०१६ मा अप्रत्यासित ढंगले वेस्ट इन्डिजलाई फाइनल खेल सुम्पिएको इङ्ल्यान्ड जस बटलरको कप्तानीमा लगातार दोस्रो उपाधि जित्न चाहन्छ ।
उता भारत हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । समूह चरणमा भारतले ४ मध्य ३ खेल जित्दा क्यानडा विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । सुपर एट चरणमा भने भारतले अफगानिस्तान, बंगलादेश र अष्ट्रेलिया माथि जित हात पारेको थियो ।
२००७ को पहिलो संस्करण जितेको भारतले त्यसपछि भने उपाधि जित्न सकेको छैन । २०१४ मा फाइनलमा श्रीलंका विरुद्ध पराजित हुँदा नै भारत दोस्रो उपाधिको सबैभन्दा नजिक पुगेको थियो । २०२३ म ओडिआई विश्वकपको फाइनलमा पराजित भारत यसपटक भने उपाधि जित्ने दाउमा नै रहेको छ । २०१३ को च्याम्पियन्स ट्रफी पश्चात भारतले कुनै आइसिसी उपाधि जितेको छैन ।
आज बर्षाका कारण खेल हुन नसकेको खण्डमा भारत फाइनल प्रवेश गर्नेछ । भारतले सुपर एट चरणमा समूहको शीर्ष स्थान हासिल गरेकाले समूह उपविजेता बनेको इङ्ल्यान्ड भन्दा अघि रहँदै फाइनल प्रवेश गर्नेछ ।
हेरौं दोस्रो सेमिफाइनलको नतिजा खेलाडीहरुको कलाले निर्धारण गर्दछ कि बर्षाले !


















