डर्टमुण्ड(जर्मनी), २७ आषाढ(एजेन्सी) । इङ्ल्यान्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । डर्टमुण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्समाथि २(१ ले विजय गर्दै उसले युरोकपको फाइनलमा स्थान पक्का गरेको हो ।
जाभी सिमोन्सले सातौं मिनेटमा नै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका थिए ।
इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टी मार्फत खेलमा बराबरी गर्यो । डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए ।
तर खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्यो । ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले । कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिश गर्दै इङ्ल्यान्डलाई जित दिलाए ।
इङ्ल्यान्डले अब उपाधिका लागि स्पेन विरुद्ध खेल्नेछ । स्पेनले गएराति सम्पन्न पहिलो सेमीफाइनलमा फ्रान्स विरुद्ध २(१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।