काठमाडौँ, १६ साउनः बितेका १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ ।
हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।
बल्खुले बगाउँदा एकजनाको मृत्यु
बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।
काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिनुभयो ।
काठमाडौँमा बाढीः ३६ जनाको उद्धार
भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।
ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।\
ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प
गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।
ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।
“डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ”, सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ । बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ ।
यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले राससलाई जानकारी दिनुभयो ।
–––