Prakash Adhikari September 16, 2024
काठमाडौँ, ३१ भदौः सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु चौथो अधिवेशन आज रातिदेखि अन्त्य हुने बताउनुभयो ।
“नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ ३० गतेको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन २०८१ साल भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ”, राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सभामुख घिमिरेले भन्नुभयो ।
सभामुख घिमिरेले प्रनिनिधिसभाको चालु चौथो अवधिभर भए–गरेका काम कारबाहीको विवरण आजको बैठकमा सुनाउनुभएको थियो । प्रतिनिधिसभाको चौथो अधिवेशन २०८१ वैशाख २८ गते प्रारम्भ भई २०८१ भदौ ३१ गतेसम्म एक सय ३० दिन चलेको छ । जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा दुई सय छ घण्टा २५ मिनेट समय संसदीय काम कारबाहीमा व्यतित भएको सभामुख घिमिरेले बताउनुभयो । यस अवधिमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बसेको थियो ।
     यो अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका छन् । जसमध्ये पाँचवटा विधेयक सङ्घीय संसदको दुवै सदनबाट पारित भएको र तीनवटा विधेयक समितिमा विचाराधिन रहेको सभामुख घिमिरेले बताउनुभयो ।
त्यसैगरी, सभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १३ वटा विधेयकमध्ये सातवटा विधेयक सम्बन्धित समितिमा विचाराधिन र एउटा विधेयक दुवै सदनबाट पारित भएको छ । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई सरकारले फिर्ता लिएको छ भने प्रतिस्थापन विधेयकका रुपमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८० समयमै पारित हुन नसक्दा र औषधि तथा स्वास्थ्य सामग्री नियमन तथा नियन्त्रण विधेयक २०८० सम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने सांसद मन्त्री भएका कारण स्वतः निष्क्रिय भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराउनुभयो ।
प्रतिनिधिसभाको चालु अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरुको अनुपस्थितिको सङ्ख्यालाई आजको बैठकले स्वीकृति जनाएको छ । चालु अधिवेशनमा सांसदहरु गीता बस्नेत ४७ दिन, मनोरमा शेरचन ५६ दिन, अम्बिका बस्नेत २६ दिन, राजु थापा १० दिन, डा नारायण खड्का १६ दिन, प्रकाशमान सिंह १७ दिन, डा सुनीलकुमार शर्मा ११ दिन, कान्तिका सेजुवाल १५ दिन, वसन्तकुमार नेम्वाङ ५६ दिन, प्रेमबहादुर महर्जन १० दिन, गोकर्णबहादुर विष्ट १२ दिन, दीपक बोहरा ५६ दिन र कालुराम राई १८ दिन बैठकमा अनुपस्थित रहनुभएको थियो । सांसदहरुको अनुपस्थितिको सङ्ख्यालाई आजको बैठकले स्वीकृति जनाएको छ ।
राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।
त्यसमध्ये दुवै सदनबाट पारित भई प्रमाणिकरण समेत भइसकेकका विधेयकमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ छन् ।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९, विनियोजन विधेयक २०८१, आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुल विधेयक २०८१ र लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ (अध्यादेश प्रतिस्थापन) रहेका छन् ।
हाल मिडिया काउन्सिल विधेयक २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१,  तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा छ ।
नेपाल विश्वविद्यालय विधेयक, २०७९ र  सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ दुवै सदनबाट पारित भए पनि राष्ट्रपतिबाट प्रमाणिकरण हुने क्रममा  छ । सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पनि प्रतिनिधिसभामा पठाइएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले गत वैशाख २८ देखि प्रारम्भ भएको अधिवेशनका क्रममा ४० वटा बैठक बसेको जानकारी दिनुभयो ।
यसअवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतिले स्वीकृत भयो ।
अधिवेशनकै क्रममा प्रधानमन्त्री/मन्त्रीहरुसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक लिखित र आठ मौखिक अधिवेशनका क्रममा जवाफ प्राप्त भएको बैठकलाई जानकारी दिइयो ।
राष्ट्रियसभाले यस अवधिमा हरेक दिन अनिवार्य रुपमा राख्ने शून्य समय कार्यको थालनी गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गरिसक्नुभएको छ ।
Share Now