
सांघाई(चीन),११ असार(बीबीसी) । चीन र अमेरिकाबीच व्यापार युद्धको दायरा बढ्दै गएको छ।
त्यसका कारण चीनको शेयर बजारमा व्यापक उतारचढाव आएको छ।
ज्यानुअरीको तुलनामा अहिले सांघाइ कम्पोजिट इन्डेक्समा १९ प्रतिशतले कमी आएको छ।
चीनको शेयरबजारमा धेरै मानिसहरू डरले शेयर बेचिरहेका छन् तर किनिरहेका छैनन्।
चीनको शेयरबजारमा यस्तो उतारचढाव सन् २०१५ पछि पहिलोपटक देखिएको हो।
नोक्सानी
साउथ चाइना मर्निङ् पोस्टको विवरण अनुसार चिनियाँ शेयरबजारमा यो हप्ता ५१४ अर्ब डलरको नोक्सान भएको छ।
त्यो भनेको स्वीडेनको सिङ्गो अर्थतन्त्रको आकार बराबर हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०० अर्ब डलर अतिरिक्त शुल्क लगाउने चेतावनी दिएपछि पछिल्लो घटना भएको हो।
यसको प्रतिक्रियामा पनि चीनले समेत त्यस्तै खाले कदम चाल्ने चेतावनी दिएको छ।
ब्लुमबर्गका अनुसार, व्यापार युद्धको आशंकाका कारण चिनियाँ शेयरबजारमाथि विदेशी लगानीकर्ताको विश्वास डगमगाएको छ।
साउन चाइना मर्निङ पोस्टमा प्रकाशित खबर अनुसार विदेशी लगानीकर्ताले ३०६ अर्ब युआनको शेयर मंगलवार बेचे।
बिहीवार चाहिँ ८३ करोड युआनको शेयर बेचे।
कतिपय विश्लेषक अमेरिकाबाट सुरु गरिएको व्यापार युद्धले शीतयुद्धको जस्तै अवस्था सिर्जना गर्न सक्ने ठान्छन्।
चीन र अमेरिका विश्वका सबैभन्दा ठूला अर्थव्यवस्था हुन्।
यदि यी दुईबीच तनाव लामो समयसम्म रहे त्यसले विश्व अर्थव्यवस्थालाई असर पार्नेछ।