
ब्रसल्स(बेल्जियम),११ असार(बीबीसी) ।फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोँले ब्रसल्समा शिखर बैठकमा भाग लिन पुगेपछि युरोपेली संघ (ईयु)का नेताहरूलाई युरोपेली मुल्यमान्यतामाथि विश्वासघात नगर्न चेतावनी दिएका छन्।
आप्रवासनसम्बन्धी समस्याबारे छलफल गर्न अहिले ईयुका सदस्य राष्ट्रका कतिपय नेताहरू ब्रसल्समा पुगेका छन्।
तर उक्त बैठक विभाजित हुने ठानिएको छ।
ईयुका सदस्य राष्ट्रका १६ जना नेताहरू गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने आप्रवासीहरूको समस्याबारे छलफल गर्न भेला भएका हुन्।
आह्वान
खासगरी जर्मन चान्सलर एंगेला मर्केलको अनुरोधमा युरोपेली आयोगले यो बैठक आह्वान गरेको हो।
यो साता हुने बृहत शिखर बैठकअघि यो बैठक हुन लागेको हो।
बैठकअघि बोल्दै फ्रान्सका राष्ट्रपति माक्रोँले युरोपले विगतमा जहिले मानवअधिकारलाई बेवास्ता गर्यो त्यो बेला खराब अवस्था निम्तिएको बताए।
उनको उक्त टिप्पणी इटलीलाई लक्षित गरिएको हुनसक्छ जसले आप्रवासीहरूलाई उद्धार गर्नमा रोक लगाएको छ।
नयाँ पहल
इटलीका नयाँ प्रधानमन्त्री जुजेपे कोन्टेले त्यस्तो समस्या समाधानका लागि पूर्ण रुपमा नयाँ पहल गर्ने बताएका छन्।
मर्केलले युरोपेली संघका अन्य देशतिर सर्न खोजेका आप्रवासीलाई रोक्न जर्मनीको प्राथमिकता रहेकोमा जोड दिइन्।
उनले युरोपेली संघको बाहिरी सीमाहरूलाई पनि बलियो बनाउनेबारे बोलिन्।
आप्रवासीको आगमनलाई सीमित बनाउने दुई, तीन वा थप देशहरूसँग सम्झौता गर्न आफूले चाहेको पनि उनले बताइन्।