काठमाडौँ, १५ भाद्र। कोरियन लगानीको २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माणस्थलमा ६ दिनदेखि थुनिएका कामदार, प्राविधिक तथा कर्मचारीहरूको उद्धार सरकारी प्राथमिकतामा नपरेपछि आज आफन्तहरूलाई नै उद्धार टोलीसहित आयोजनास्थलमा हेलिकप्टरबाट पठाइएको छ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा परिवारजनले निरन्तर दबाब दिएपछि आयोजनाका प्रतिनिधि र पीडितका आफन्तबीच छलफल भई हेलिकप्टर र उद्धार टोली पठाउने सहमति भएको थियो।
कम्पनीको खर्चमा सरकारसँग समन्वय गरी पठाइएको हेलिकप्टरमा बेपत्ताका आफन्तहरूसमेत सहभागी छन्। आफन्तहरूले त्यहाँ भइरहेको खोजी-उद्धार कार्यको अवलोकन गर्नुका साथै वास्तविक अवस्थाबारे जानकारी लिनेछन्।
हालसम्म आयोजनास्थल तथा आसपासका क्षेत्रहरूबाट २ सय ५४ जनाको सकुशल उद्धार भइसकेको भए तापनि अझै ५ सय ७६ जनाभन्दा बढी मानिसहरू सम्पर्कविहीन रहेका छन्। आयोजनामा कार्यरत सहकर्मीहरुका अनुसार करिब ३ सय जना आयोजनाको मुख्य सुरुड.मा फसेका छन्
यतिका दिन बितिसक्दा पनि पर्याप्त उद्धार टोली पुग्न नसकेको भन्दै आफन्तहरू आक्रोशित बनेका छन्। खाना र पानीको अभावमा भीर तथा सुरुङभित्र फसेका नागरिकहरूको ज्यान जोखिममा परेको भन्दै परिवारजनले चिन्ता व्यक्त गरेका छन्।
सडक पहुँच पूर्ण रूपमा अवरुद्ध भएकाले हवाई मार्गबाट उद्धार कार्यलाई तीव्र बनाउन र फसेकाहरूलाई तत्काल उद्धार गर्न परिवारजनले जोडदार माग गरेका छन्।








