
काठमाडौं,१३ असार । नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दलले महंगी, भ्रष्टाचार, स्वतन्त्र न्यायापालिका र प्रेश स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेपको विरोध गर्दै राजधानीमा प्रदर्शनी गरेको छ ।
तरुण दलका नेता कार्यकर्ताहरुले बुधबार काठमाडौको रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भएर प्रदर्शनसहित विरोधसभा गरेका हुन् ।
विरोधसभामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायतले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा अध्यक्ष बस्नेतले महंगीले सर्वसाधारण जनाताको चुल्हो बल्नै नसक्ने अवस्थामा पुग्दा पनि सरकार भने दुई तिहाइको दम्भ देखाएर बसेको अरोप लगाए ।
उनले बामपन्थी सरकारका क्रियाकलाप जनसरोकारका मुद्दामा केन्द्रीत हुनुको साटो राज्यसंयन्त्रको दुरुपयोग गर्नेतर्फ केन्द्रीत हुन थालेकाले तरुणदलले विरोध गर्नुपरेको बताए ।
विरोधसभाअघि तरुण दलका कार्यकर्ताहरु बालाजु, कलंकी, कोटेश्वर, लगनखेल लगायतबाट रत्नपार्क पुगेका थिए ।
सरकारले निरंकुश शैली अपनाउने संकेत देखिएपछि नेपाली कांग्रेसले सरकार विरोधी अभियान चलाउन थालेको छ ।
संसदमा पनि कांग्रेसका सांसदहरु आक्रामक बन्दैछन भने सडकमा पनि भातृ संस्थाहरुले आलोपालो विरोध प्रदर्शन थालेका छन् ।