Prakash Adhikari June 27, 2018

मस्को(रुस) १३ असार (एजेन्सी)। क्रोएसियासँग २ का विरुद्ध १ गोलले पराजित भएको आइसल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

गणितीय आकडाका आधारमा अर्को चरण पुग्ने सम्भावना रहेको आइसल्याण्ड क्रोएसियासँग पराजित भएपछि भने जितविहिन बन्दै समूह चरणबाटै वाहिरिएको हो।

आइसल्याण्डले तिन खेलबाट एक अंक मात्रै जोड्न सक्यो।आइसल्याण्ड समूह चरणमा अर्जेन्टिनासँग एक एकको बराबरीमा रहेको थियो भने नाइजेरियासँग दुई शुन्यले पराजित भएको थियो।

यस्तै क्रोएसिया भने समूह डी का तिनवटै खेलमा अपराजित रहदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार भएको समूह चरण अन्तर्गतको आफ्नो अन्तिम खेलमा आइसल्याण्ड क्रोएसियासँग दुई एकले पराजित हुनपुग्यो। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको ५३ औं मिनेटमा क्रोएसियाले मिलन बादेल जे को गोल मार्फत अग्रता लियो।

मिलनले मोड्रिकको पासमा उत्कृष्ट गोल गरे। एक गोलले अग्रता लिएको क्रोएसिया ७६ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल खान पुग्यो। आइसल्याण्डका बिरकिर बिजारेसनले प्रहार गरेको बल डि बक्समा रहेका क्रोएसियाका डेजान लोभरेनको हातमा लागेपछि आइसल्याण्डले खेल बराबरीमा ल्याउने अवसर प्राप्त गरेको थियो। प्राप्त अवसरलाई आइसल्याण्डका जिल्फि सिगुर्डसनले गोलमा परिणत गरे।

एक एकको बराबरीमा अघि बढेको खेलको निर्धारित समयको अन्तिम मिनेटमा पुनः क्रोयसिया गोल गर्न सफल भयो। ९० औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गरेको गोलनै निर्र्णयक बन्न पुग्यो र क्रोयसिया समूह चरणको आफ्नो अन्तिम खेलमा समेत विजयी बन्दै समूह विजेता बन्यो।

क्रोएसियाले यसअघि समूह चरणमा नाइजेरियालाई दुई शुन्य र अर्जेन्टिनालाई तिन शुन्यले पराजित गरेको थियो। समूह चरणका खेलमा क्रोएसियाले ७ गोल गर्दा एक गोल मात्रै विपक्षी टोलीबाट खान पुग्यो।

मंगलबारको खेलसँगै यो समूहबाट क्रोएसिया र अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेका छन् भने नाइजेरिया र आइसल्याण्ड बाहिरिएका छन्। नकआउट चरणमा क्रोएसियाले डेनमार्क प्रतिद्वन्द्वी पाएको छ भने अर्जेन्टिना फ्रान्ससँग खेल्ने भएको छ

Share Now

Leave a comment.