
मस्को(रुस), १५ असार । अफ्रिकन मुलुक सेनेगललाई हराउँदै रूसमा जारी फिफा विश्वकप फुटबलको समूह एचमा कोलम्बिया समूह विजेता बनेको छ । यो जीतसंगै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ।
बिहिबार भएको समूह चरणको अन्तिम खेलमा सेनेगललाई १-० ले हराउँदै कोलम्बिया समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।
समारा एरिनामा भएको खेलमा कोलम्बियालाई जिताउन एरि मिनाले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७४ औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई अन्तिम १६ मा पुर्याएका हुन्।
यो जितसँगै समूह ‘एच’ बाट कोलम्बियाले २ जितसहित ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर लिग चरणको अन्त्य गरेको छ। यस्तै ४ अंक जोडेको सेनेगल समूह चरणबाट बाहिरिएको छ।
यो समूहबाट पोल्याण्डसँगको हारको बाबजुत जापानले नकआउट चरणमा पुग्यो।
सेनेगलसँग समान ४ अंक जोडे पनि फेयर प्ले अंकको आधारमा जापान उपविजेता बन्दै दोस्रो चरणमा पुगेको हो।
सेनेगलले जापानले भन्दा दुई बढी पहेलो कार्ड पाएको थियो। अन्तिम खेलमा जित निकाले पनि पोल्याण्ड समूह चरणबाटै बाहिरियो।