Prakash Adhikari January 15, 2025

 

सिउल(दक्षिण कोरिया), २ माघ(बीबीसी) । दक्षिण कोरियाका भ्रष्टाचारविरोधी अनुसन्धानकर्ताहरूले देशका निलम्बित राष्ट्रपति यून सुक यउललाई पक्राउ गरिएको जनाएका छन्।

यउललाई देशद्रोह र अख्तियार दुरुपयोग गर्दै मार्शल ल लागु गर्ने प्रयाससम्बन्धी अभियोगबारे बयानका लागि त्यहाँबाट लगिएको बताइएको छ।

यससँगै उहाँ पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्नुभएको छ।

सोलस्थित सरकारी निवासमा पुग्नका लागि अनुसन्धानकर्ता र प्रहरीले राष्ट्रपतीय सुरक्षा सेवाले खडा गरेका अवरोधहरू छिचोल्नु परेको थियो।

उनीहरूले त्यस निवास परिसरबाहिर उपस्थित भएका यउलका हजारौँ समर्थकहरूको समेत सामना गरेका थिए।

जस क्रममा मुख्य ढोकाबाहिर भएको झडपमा एक जना घाइते भए।

यउलले के भन्नुभयो ?

स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जाँदा उहाँलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्।

निलम्बित राष्ट्रपति यउलका तर्फबाट जारी एक विज्ञप्तिमा उहाँले रक्तपात छल्नका लागि आफू पक्राउ हुन तयार भएको जनाए तापनि त्यसको अर्थ आफू अनुसन्धानका लागि सहमत भएको भन्ने नरहेको जनाइएको छ।

एक संक्षिप्त भिडिओमार्फत् उहाँले उक्त अनुसन्धानलाई गैरकानुनी बताउँदै देशमा कानुनीराज टुटेको बताउनुभएको छ।

उहाँले आफूबारे अनुसन्धान गर्ने र पक्राउ पुर्जी जारी गर्ने अदालतसँग त्यस्तो अधिकार नरहेको बताउनुभयो।

पक्राउ प्रयास जारी रहँदा सरकारी निवासबाहिर उहाँको पक्ष र विपक्षमा नाराबाजी भएको त्यहाँस्थित बीबीसी संवाददाताले जनाउनुभएको छ।

समर्थकहरूले उहाँको नाम लिएर चिच्याइरहँदा विरोधीहरूले भने ‘पक्राउ गर’ भन्दै नाराबाजी गरेका थिए।

अब उहाँलाई त्यहाँको भ्रष्टाचार अनुसन्धानसम्बन्धी कार्यालयमा उपस्थित गराइनेछ जसले यसअघि उपस्थितिका लागि गरेको निर्देशनलाई उहाँले बेवास्ता गर्नुभएको थियो।

अनुसन्धानकर्ताहरूले यस महिनाको सुरुमासमेत उहाँलाई पक्राउ गर्न खोजे पनि असफल भएका थिए।

उहाँको महाभियोगसम्बन्धी सुनुवाइ मङ्गलवार सुरु भए पनि उहाँ उपस्थित नभएका कारण चार मिनेटमै सकिएको थियो। उक्त सुनुवाइले उहाँ पदमुक्त हुने-नहुने टुङ्गो लगाउनेछ।

विवादित विगत

गत डिसेम्बर ३ मा मार्शल ल लागु गर्न खोजेपछि उहाँविरुद्ध व्यापक प्रदर्शन पनि भएको थियो।

कट्टर परम्परावादी नेता यून सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

तर एप्रिलमा भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीले फराकिलो जित हासिल गरेपछि उहाँका ूहातखुट्टा बाँधिए जस्तैू भएको थियो।

त्यसयता उहाँको सरकारले चाहेका कानुनहरू पारित गर्न सकिरहेको छैन र उदारवादी विपक्षीहरूले पारित गरेका विधेयकहरूमा भिटो लगाउने अवस्थामा सीमित भएको छ।

कैयौँ भ्रष्टाचार प्रकरणमा नाम जोडिएका कारण उहाँको लोकप्रियता पनि खस्किएको छ।

उहाँकी पत्नीलाई एउटा महँगो ब्र्यान्डको झोला उपहार लिएको र धितोपत्र बजारमा चलखेल गरेको आरोप लागेको थियो।

यउल र उहाँपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसद्‌द्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ।

राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि हाल अर्थमन्त्री चोई साङ-मोकलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।

Share Now