Prakash Adhikari January 15, 2025

काठमाडौँ, २ माघ। नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान एमाले कांग्रेस लगायतका दलहरुको सयुक्त सरकारका विरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी सुरु गरेका छन् ।

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले सरकार स्वेच्छाचारी भएको निश्कर्ष निकाल्दै सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको छ

बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा(एकीकृत समाजवादी)।राष्ट्रिय प्रजातन्त्र पार्टी , नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका नेताहरुको सहभागिता थियो ।

बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ । ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरी त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने र्छौं’, पुनले भन्नुभयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

सरकार स्वेच्छाचारी बनेको ठहर

बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको पनि ठहर गरेको छ ।

बैठकमा संसद् छलेर अध्यादेशहरु ल्याएको भन्दै त्यसको विरोध गरेको छ । साथै बैठकले संसद्को अधिवेशन बोलाउन माग गरेको छ ।

बैठकले प्रतिपक्षी दलहरूले केही दिनभित्र साझा धारणा बनाउन ड्राफ्ट कमिटी बनाएको छ ।

रविमाथि प्रतिशोध र दमनकारी व्यवहार

विपक्षीहरुले रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दालाई राजनीतिक रंग दिने कसरत पनि गरिरहेका छन् । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र राजनीतिक प्रतिशोधपूर्ण व्यवहार गरियो भन्दै आएकोमा त्यही बोलीमा नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलहरुले पनि लोली मिलाउन थालेका छन् ।

आज बसेको विपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साधेर निरन्तर दमको शैली अपनाएको ठहर गरेको छ ।

बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा पार्टी सभापति रवि लामिछानेको विषयमा छलफल भएको रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिनुभएको छ ।

समान किसिमको घटनामा सत्ता घटक दल निकट रहेकाहरूलाई बिहान अदालत लगेर साँझ छाड्ने गरेको तर‚ सभापति लामिछानेमाथि प्रतिशोध साधिएको ठहर बैठकले गरेको छ ।

‘सहकारीको विषयमा कसैलाई बिहान अदालतमा ल्याएर साँझ छोडेको छ । सञ्चालकहरूलाई पनि त्यसरी छाडेको छ । रविजीमाथि राज्यको प्रतिशोध हो । यस किसिमको दमन व्यवहार गर्नुहुँदैन भन्ने बैठकको निष्कर्ष रह्यो‚’ अर्यालले भन्नुभयो ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

Share Now