Prakash Adhikari January 15, 2025

काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मुछिएको सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस सुरु भएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेको मुद्दामा थुनछेक बहस सुरु भएको हो । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस थाल्नुभएको छ।

बुधबार थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएपछि बहस प्रक्रिया सुरु भएको हो । कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन सम्बन्धी मुद्दा दायर भएपछि लामिछाने आइतबार अदालतमा उपस्थित हुनुभएको थियो ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता पन्तपछि रमण श्रेष्ठले पनि बहस गर्नुहुनेछ। त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । बहस सकिएपछि न्यायाधीशले लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि कारागार पठाउने वा बाहिरै रहेर मुद्दा लड्न दिने निर्णय सुनाउनेछन् ।

यसअघि कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँमा धरौटीमा छाड्न गत बिहीबार आदेश दिएको थियो।

Share Now