जेरूसेलम, ६ माघ (रासस/एएफपी):इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा युद्धविराम ग्रिनविच समयअनुसार बिहान ६ः३० बजे सुरु हुने भनिएको युद्धविराम प्राविधिक समस्या भन्दै हमासले बन्धकहरूको सूची उपलब्ध गराउन ढिलाइ गरेपछि केही ढिलो हुने देखिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रिहा गरिने बन्धकहरूको सूची उपलब्ध नगराएसम्म युद्धविराम सुरु नहुने चेतावनी दिनुभएको छ ।
नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीले आईडीएफ (सेना) लाई स्थानीय समय अनुसार बिहान ८ः३० बजे (ग्रिनविच समय अनुसार ६ः३० बजे) देखि लागू हुने गरी तय गरिएको युद्धविराम इजरायलले रिहा गरिएका बन्धकहरूको सूची प्राप्त नगरेसम्म सुरु नहुने जानकारी गराउनुभएको छ ।”
युद्धविरामका शर्तहरूप्रति आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्दै हमासद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिलो चरणमा सार्वजनिक गरिने नाम प्राविधिक कारण सार्वजनिक गर्न ढिलाइ भएको छ । समूह सम्झौता अनुसारको आफ्नो प्रतिवद्धतामा दृढ छ।”
नेतन्याहूले शनिबार राति बन्दीको सूची उपलब्ध नगराएसम्म आइतबार बन्धक बनाइएकाहरूको बदलामा प्यालेस्टिनी कैदीहरूको अदलाबदली पनि नहुने चेतावनी दिनुभएको थियो ।”
उहाँले इजरायलले अमेरिकी सहयोगमा ‘आवश्यक परेको खण्डमा’ युद्ध पुनः सुरु गर्ने अधिकार सुरक्षित राखेको र हालको युद्धविराम ‘अस्थायी’ भएको पनि बताउनुभएको थियो ।
कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा महिनौँ लामो कठिन वार्तापछि युद्धविरामका लागि इजरायल र हमासबीच सम्झौता भएको छ । सम्झौताको कार्यान्वयनमा केही ढिलाइ भएपनि प्रतिवद्धताबाट कुनै पनि पक्ष फिर्ता भइहाल्ने अवस्था भने नभएको मध्यस्थकर्ता कतारले जनाएको छ ।
गाजामा आक्रमण जारी
इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरूद्ध गाजामा आक्रमण जारी राखेको छ । समूहले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएकाले युद्धविराम अझै लागू नभएको बताएको छ ।
“आइडीएफले अहिले पनि गाजा क्षेत्रभित्र आक्रमण जारी राखेको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार हमासले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म युद्धविराम लागू हुने छैन,” इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले एक टेलिभिजन वक्तव्यमा भन्नुभएको छ ।
एएफपीको फुटेजमा भने युद्धविराम लागू हुने समय मध्य शहर देइर अल–बलाहमा स्थानीय समयअनुसार ८ः३० बजेपछि सयौं गाजावासीले युद्धविराम लागुभएकोमा खुशी व्यक्त गर्दै प्रदर्शन गरिरहेका छन् । धेरैले मोबाइलमा फोटो खिचिरहेका थिए, ताली बजाइरहेका थिए र एकअर्कालाई अँगालो हालेका थिए ।
करिब ३० मिनेटपछि एएफपी टिभीले उत्तरपूर्वी गाजामा खैरो धुवाँको बाक्लो मुस्लो उठेको देखायो। उक्त क्षेत्रमा इजरायली सेनाले हवाई आक्रमण गरेपछि उक्त दृष्य देखिएको हो ।
हमासले सम्झौता अनुरूप फिर्ता गर्ने ३३ जना बन्धकको सूची पठाउन प्राविधिक समस्याका कारण ढिलो भएको जनाएको छ ।