Prakash Adhikari January 20, 2025

आना फाग्वे
बीबीसी न्यूज /वासिङ्टन

वासिङ्टन डीसी(संयुक्त राज्य अमेरिका), ७ माघ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नै क्रिप्टोकरेन्सी घोषणा गर्नुभएको छ।

उक्त डिजिटल मुद्रा केही घण्टामै कैयौँ अर्ब डलरमा परिणत भएको थियो।

मिम कोइन डलर ट्रम्प($Trump) नाम दिइएको उक्त क्रिप्टो सोमबार ट्रम्पले संयुक्त राज्य अमेरिकाका ४७औँ राष्ट्रपतिका रूपमा शपथ लिनु अघि घोषणा गर्नुभएको हो।

ट्रम्प अर्गनाइजेशनको एउटा भातृ निकाय सीआईसी डिजिटल एलएलसीले उक्त भेञ्चरको संयोजन गरेको थियो।

विगतमा उक्त निकायले ट्रम्पको ब्रान्ड प्रयोग गरिएका जुत्ता र अत्तरहरू बिक्री गर्नेगर्थ्यो।

ट्रम्पले मीम कोइनबारे के भन्नुभयो ?

मिम कोइनहरू इन्टरनेटमा भाइरल रहेका ट्रेन्डहरूलाई अझ लोकप्रिय बनाउन ल्याउने गरिए तापनि तिनको वास्तविक मूल्य धेरै नहुने र लगानीको हिसाबले जोखिम पनि बढी हुने ठान्ने गरिन्छ।

तर घोषणा गरिएको केही घण्टामा नै डलर ट्रम्प ($Trump) को बजारको पुँजी ५.५ अर्ब डलर पुगेको कोइनमार्क्रेटक्याप डट कमले जनाएको छ।

सीआइसी डिजिटल एलएलसी र यसै महिनाको सुरुमा डेलावेयरमा घोषणा भएको फाइट फाइट फाइट एलएलसीको स्वामित्वमा ८० प्रतिशत टोकनहरू रहेका छन्। यसबाट ट्रम्पले कति आम्दानी गर्नेछन् भन्ने प्रस्ट छैन।

“मेरो नयाँ आधिकारिक ट्रम्प मीम उपलब्ध भइसकेको छ। हाम्रा सबै मान्यताहरू, हाम्रो विजयका लागि खुसीयाली मनाउने समय यो हो”, ट्रम्पले शुक्रवार राति मीम कोइनको घोषणा गर्दै आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्नुभएको थियो।

झन्डै २० करोड डिजिटल टोकनहरू सार्वजनिक गरिएको छ भने आगामी तीन वर्षमा थप ८० करोड डलर ट्रम्प($Trump) क्रिप्टो सार्वजनिक गरिने उक्त कोइनको वेबसाइटमा जनाइएको छ।

“ट्रम्प मीमले जतिसुकै अप्ठेरो परिस्थितिमा पनि पछि नहट्ने एउटा नेताप्रति सम्मान व्यक्त गर्छ”,सो वेबसाइटमा भनिएको छ।

त्यसमा एउटा स्पष्टीकरण पनि उल्लेख गरिएको छ जसले उक्त सिक्का लगानीको अवसर र सुरक्षा सवाल हुन नचाहेको र नरहेको भन्दै कुनै राजनीतिक अभियान, कार्यालय वा सरकारी निकायसँग यसको लेनादेना नरहेको जनाइएको छ।

आलोचकहरूले के भनिरहेका छन्?

आलोचकहरूले भने ट्रम्पलाई राष्ट्रपतीय पदको प्रयोग गरेर लाभ लिन खोजेको आरोप लगाएका छन्।

“ट्रम्पले ८० प्रतिशत स्वामित्व राख्नु र शपथग्रहणअघि यसलाई सार्वजनिक गर्नु अरूलाई सिकार गर्नु जस्तै हो। यसबाट धेरैलाई चोट पर्नसक्ने सम्भावना छ”, सामाजिक सञ्जालमा राखिएको पोस्टमा एकजना क्रिप्टो भेन्चर क्यापिटालिस्ट निक टोमाइनोले भन्नुभयो।

यस्ता खालका डिजिटल मुद्राहरू बदनाम छन् किनभने उनीहरूले पछाडि आउने लगानीकर्ताहरूलाई ठूलो नोक्सानी गराउँछन्।

चर्चाका कारण सुरुमा ह्वातै मूल्य बढ्ने भएपनि पछि बजार मूल्य निकै कम हुने जोखिम रहन्छ।

क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूले ट्रम्प प्रशासनले उक्त उद्योगलाई बढवा दिने अपेक्षा गरिरहेका छन्।

राष्ट्रपति जो बाइडनका नियामक निकायहरूले ठगी र सम्पत्ति शुद्धीकरण जस्ता चिन्ताहरू व्यक्त गर्दै क्रिप्टो कम्पनीहरूविरुद्ध कडा नीति अख्तियार गर्नुभएको थियो।

विगतमा ट्रम्प पनि क्रिप्टोकरेन्सीबारे खासै उत्साहित हुनुहुन्थेन।

तर अघिल्लो वर्ष बिटकोइनको एउटा सम्मेलनमा बोल्दै उहाँले आफू वासिङ्टनमा फर्किएपछि अमेरिका ‘पृथ्वीको क्रिप्टो राजधानी’ बन्ने घोषणा गर्नुभएको थियो।

उहाँका छोराहरू एरिक र डोनल्ड जुनीअरले अघिल्लो वर्ष आफ्नै क्रिप्टो भेन्चरहरूको घोषणा गरिसक्नुभएको छ।

यसैबीच सोमबार हुने शपथग्रहणमा सहभागी हुन राष्ट्रपति निर्वाचित ट्रम्प वासिङटन डीसी पुग्नुभएको छ।

ट्रम्पले सप्ताहन्तमा आफ्ना समर्थकहरू र चन्दादातासहितलाई लक्षित गरेर विभिन्न समारोहहरू आयोजना गर्दै हुनुहुन्छ ।

Share Now