काठमाडौं, १७ माघ । माघ शुक्ल प्रतिपदामा मनाइँने सोनाम ल्होसार आज देश विदेशमा रहेका तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर हर्षोल्लासपूर्वक नयाँ वर्षका रुपमा मनाउँदै छन् ।
तामाड. क्यालेण्डर अनुसार आजदेखि खरायो वर्ष पूरा भएर गरुड वर्ष सुरु भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ,सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
यो पर्वका अवसरमा भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गर्ने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदिले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइँदै छ ।