काठमाडौं, १७ माघ । सोनाम ल्होसारका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँहरुले धार्मिक,सांस्कृतिक, जातीय र भाषिक विविधतायुक्त नेपालमा तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा जातिले नयाँ बर्षको रुपमा मनाउने यस पर्वले राष्ट्रिय एकतालाई मजबूत बनाउने विश्वास गर्नुभएको छ ।
बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।
“सोनामल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।
सोनामल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
एकताले राष्ट्रिय भावनालाई थप मजबुद बनाउन सहयोग पुग्छःउपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सोनामल्होसारको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने उल्लेख गर्नुभएको छ ।
“यसले हामीलाई हाम्रो मौलिक परम्परा, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रव।्द्धन गर्नुपर्ने जिम्मेवारी स्मरण गराउँद । यस अवसरमा आयोजना गरिने मौलिक एवं सांस्कृतिक नाचगान र सङ्गीतले नेपाली संस्कृतिको जगेर्ना गर्नमा सघाउँदछ । ल्होसारमा पकाइने विशेष तथा परम्परागत मीठो परिकारहरूले हाम्रो रैथाने रीतिरिवाजलाई जीवन्त बनाउँदै पुस्तान्तरण गर्नमा उत्तिकै सहयोग पुगेको मेरो विश्वास छ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।
नेपालका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायतले आ–आफ्नो मौलिक संस्कृति र परम्पराअनुसार नयाँ वर्षका रूपमा यो पर्व मनाउने चलन रहिआएको छ । यस पर्वको मुख्य विशेषताहरूमा सामूहिकता, भूमिपूजा, कुलपूजा, दानदक्षिणा र ढोगभेटका साथ आपसमा शुभकामना आदानप्रदान गर्नुलगायतको रहेको पाइन्छ ।
उपराष्ट्रपति यादवले आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व र द्वेष बिर्सेर परस्पर खुसी र उल्लास साटासाट गर्न सोनामल्होसारले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । “नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको छ । हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । यस पर्वले पनि त्यसमा उत्प्रेरित गर्ने विश्वास लिएको छु”, उहाँको भनाइ छ ।