Prakash Adhikari July 8, 2018

काठमाडौं, २४ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा आफूलाई विमानस्थलबाट अपराधीलाईजस्तो छापामार शैलीमा नियन्त्रणमा लिइएको आरोप लगाएका छन्।

क्यानडाको भ्यानकुभर सहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको भोलिपल्ट आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कोइरालाले यस्तो आरोप लगाएका हुन्।

उनले वर्तमान सरकार सर्वसत्तावादको चगुंलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेको आरोप लगाए। त्यसैगरी उनले कम्युनिष्टले संस्कार र संस्कृति मास्न लागेको पनि आरोप लगाए।

‘क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ, प्रहरी लगाएर मलाई पक्राउ गरियो, कुनै कारण देखाईएन’ उनले भने ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हुँदा पनि त्यस्तै कार्यक्रममा चीन गएको स्मरण गराउँदै कोइरालाले भने, ‘चीन जाँदा जुन प्रक्रिया अपनाएको थिएँ। त्यही प्रक्रिया र नियम अहिले पनि पालना गरेको थिएँ। मैले एक साताअघि नै यसबारेमा सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ। तर त्यस विषयमा कुनै जानकारी नगराइ मलाई विमानस्थलबाट एकैचोटी छापामार शैलीमा अपराधीलाई जस्तो पक्राउ गरियो। यो खेदजनक छ। यो अपमान मप्रतिमात्रै नभएर सिंगो प्राज्ञिक जगतमाथिको अपमान हो।’

उनले त्यही विधि र प्रक्रिया अपनाएर बिदाको निवेदन दिएको बताउदै भने, शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ। तर, किन रोकियो रु मेरो बिदाको निवेदनको फाइल किन लुकाइयो।’

उनले यस घट्नाले अन्तर्राष्ट्रिय फोरममा समेत नेपालको बेइज्जती भएको बताए ।

प्रधानमन्त्री ओली बहुमतको दम्भबाट ग्रसित रहेको बताउदै कोइरालाले भने, मलाई अपराधीजस्तो गरेर पक्राउ गर्नु भनेको नेपाली र प्राज्ञिक क्षेत्रको अपमान हो। म अपमानका प्याला सहज तरिकाले पिउन सक्छु तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि लडेको सिंगो नेपाली समाजलाई यस्ता गतिविधि पाच्य हुँदैनन्।’

यो घटनाले उक्त सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रमा समेत नेपालको सरकारको नकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ।

उनले भने,‘म क्यानडामा पिकनिकको लागि जान खोजेको थिइनँ। हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिन जान लागेको थिएँ।’

हवल्दारी पाराले विश्व विद्यालय नचल्ने दाबी गर्दै उनले विश्वविद्यायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई आग्रह गरे।

उनले भने,‘म विनम्र अनुरोध गर्न चाहन्छु, ओलीज्यू हामीले पनि लोकतन्त्र र गणतन्त्रको लागि भूमिका खेलेका छौं। हवल्दारी पाराले प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्न खोज्नु मुर्खता हो। हामीले अनुमान गरेका थियौं कालिदासले कुनै डिग्री लिएका थिएनन्। कति वैज्ञानिकहरुले विश्वविद्यालयको आँगन टेकेका थिएनन्। हामी सबै बुझेका मानिस त होइनौं तर तपाईंहरूभन्दा केही जान्दछौं। मलाई यो किसिमको अपहरण किन गरियोरु मैले के अपराध गरेको थिएरु विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदा के भत्किने थियोरु तपाईंले चालेको कदम अधिकानायवादको पूर्व संकेत हो। नेपालको लागि अधिनायकवाद कल्पनाभन्दा बाहिरको कुरा हो। सरकारका रवैयाहरूले राम्रो संकेत दिइरहेका छैनन्।’

उपकुलपति पद छोडिदिनुपर्‍यो भनेर सरकारले भन्दा नमान्नु भएको स्थितिमा आजको दिन आएको हो अरे निरु भनेर सोधिएको पत्रकारको प्रश्नको जवाफमा उनले भने, ‘एकदिन वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हामी १० जना उपकुलपतिलाई बोलाएर छोड्नुपर्यो भनेर भन्नुभएको थियो। हामीले नियम र प्रक्रिया छ, हामी त्यसअनुरुप बाहिरिन्छौं भनेका थियौं। तर मेरो एक साताको बिदा ९ दिन टेबुलमा थन्काइयो कुनै जवाफ नदिएर मलाई विमानस्थलबाट पक्राउ गरियो।’

नेपाल प्राज्ञिक संघका अध्यक्ष प्राध्यापक रामेश्वर उपाध्यायले शनिबार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालालाई पक्राउ गर्नु आपत्तिजनक र सरकारको गम्भीर भूल भएको टिप्पणी गरेका छन्।

उनले भने, ‘सरकारले निर्धारित कार्यक्रमको लागि क्यानडा जानबाट उपकुलपतिलाई बञ्चित गर्नु स्वभाविक होइन। विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि विमानस्थल पुगेका आफ्नै उपकुलपतिलाई अपहरण शैलीमा पक्राउ गरेर जहाज छुटेपछि छोड्नु तानाशाही शैली हो। सरकारलाई दुईतिहाईको भूत चढेको छ। कुनै कारण नदेखाएर अपमान गर्नु सामान्य कुरा होइन। १११ देशले भाग लिने उक्त सम्मेलनमा जान लागेको उपकुलपतिलाई रोकेर सरकारले के गर्न खोज्दैछरु सरकारका यस्ता गलत प्रवृत्तिले उसलाई नै अप्ठ्यारोमा पार्छ। गणतन्त्रको लागि हाम्रा मित्रहरु शहिद बन्नुभएको छ। प्रधानमन्त्रीले आफ्नोमात्रै अधिकार हो जस्तोगरी सरकारमा बसेर सत्ताको दुरुपयोग गर्नुभएको छ। हामी टुलुटुलु हेरेर बस्दैनौं।’

उपाध्यायले वर्तमान सरकारले प्राज्ञिक स्वतन्त्रता र प्राज्ञिक विद्यतालाई सम्मान गर्न नसकेको समेत गुनासो पोखे।

नेपाल कर्मचारी संघका प्रतिनिधि रमेश जोशीले ८० प्रतिशत हिन्दुहरू रहेको नेपाललाई धर्मनिरपेक्षता घोषणा गर्नु गल्ती भएको बताएका छन् ।

उनले भने,‘नेपालमा ८० प्रतिशत हिन्दुहरु बसोबास गर्ने मुलुक हो तर धर्मनिरपेक्षता घोषणा गरियो। पछिल्लो समयमा सरकार निरंकुश बन्दै गइरहेको छ। बहुमतको दम्भले सरकार चलेको छ, तानाशाह शैलीको घोर भत्सर्ना गर्दछु ।’

Share Now

Leave a comment.