
काठमाडौं, २४ असार । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राखिएको छ।
उनले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।
उनलाई सर्वोच्च अदालतको आदेश पछि आइतबारै डिल्लीबजार कारागारमा राखिएको छ ।
विगतमा पनि पक्राउ परेका छविलाललाई जिल्ला अदालत चितवनले २०७१ वैशाख ४ गते धरौटीमा रिहा गरेको थियो।
पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदालत चितवनको निर्णय सदर गरिदिएको थियो।
पीडित अधिकारीका परिवार पुनरावेदनको फैसलाविरूद्ध सर्वोच्चमा गएका थिए।
२०७२ पुसमा न्यायाधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले पुनरावेदनको आदेश बदर गर्दै पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
सोही आदेशअनुसार उनी आफैं अदालतमा उपस्थित भएका हुन्।
छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी
पछिल्लोपटक जेठ १५ देखि वीर अस्पतालमा अनसन बसिरहेकी छन्।
यसअघि सोही माग गर्दै अनसन बसेका कृष्णप्रसादका बुवा नन्दप्रसादको अनसनकै क्रममा निधन भएको थियो।
कृष्ण अधिकारीको चितवनमा २०६१ जेठ २४ मा हत्या भएको थियो।