Prakash Adhikari July 8, 2018

 

काठमाडौं, २४ असार । नेपाली कांग्रेसले प्रतिनिधि सभाको तीन चौथाई समर्थनमा बनेको वर्तमान सरकार निरंकुश बन्दै गएको आरोप लगाएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डले यस्तो आरोप लगाएका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई क्यानडा जान लाग्दा शनिवार विमानस्थलबाट पक्राउ गरिएको बारे राष्ट्रिय सभामा बोल्दै उनले सो आरोप लगाएका थिए ।

उपकुलपतिलाई विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा नियन्त्रणमा लिनु निरंकुश चरित्रको प्रमाण हो,सांसद पाण्डले भने ।

नेपाली कांग्रेसका सांसद पाण्डेले सरकारको यो निरंकुश शैलीले सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन आयोजना गर्ने म्याण्डेट लिने अवसर अप्ठेरोमा परेको बताए।

उनले एयरपोर्टमा प्रक्रिया पुरा गर्दा ६ जनालाई बाहिर जाने अनुमति दिएको तर उपकुलपतिलाई हठात् प्रहरीले धरपकड गरेर ल्याइएको भन्दै विरोध गरे।

शनिवार साढे पाँच बजे उपकूलपति कोइरालालाई क्यानडा जानेक्रममा सेक्युरिटी चेकगर्दा एयरपोर्टमा डी आइ जी खटाएर नियन्त्रणमा लिई प्रधानमन्त्रीले भेट्न खोज्नुभएको छ भन्दै बालुवाटार ल्याइयो र बन्द कोठामा थुनेर साढे ७ बजे मात्र मुक्त गरिएको थियो । उनको प्लेनको उडान समय ८ बजे थियो । पर्केर जान नभ्याउने गरेर उनलाई छोडिएको थियो ।

अपहरणको शैलीको निन्दा

यसैबीच आइतबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई अपहरणको शैलीमा गरिएको दुर्व्यवहारको निन्दा गर्दै यसलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

विज्ञप्तिमा क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तथा आगामी विश्व सम्मेलन नेपालमा नै गर्ने तयारीका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै सरकारले कार्यक्रमको महत्वलाई वुझ्न नसकेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले एकातर्फ सरकारको अनुदार चरित्रलाई थप प्रष्ट्याएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय मञ्चमा देशको छवीलाई समेत असर पु¥याएको छ ।’

नेपाली कांग्रेसले सरकारको यो व्यवहारको निन्दा गर्दै प्राज्ञिक क्षेत्रसंगै आम नागरिकसंगको व्यवहार र शैलीलाई सरकारले सच्याउन नसके आगामी दिनमा सरकारले झनै चुनौती सामना गर्नु पर्ने चेतावनी दिएको छ ।

सरकारले उपकूलपतिमाथि दुर्ब्यवहार गरी प्राज्ञिक क्षेत्रलाई पनि चिढ्याएको छ ।

चिकित्सा विधेयक प्रकरणमा सरकारले लिएको नीतिले देशभरका चिकित्सकहरु सरकारको विरोधमा गैरहेका छन् ।

डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि पनि उपयुक्त कदम नचालेकोले सरकारका विरुद्धमा जनआक्रोश बढिरहेको छ ।

गंगामायाको अनशनको संबोधन नगरेकोले मानवअधिकारकर्मीहरु पनि सरकारको विरोधमा उभिन पुगेका छन् ।

सरकारले तीन चौथाई मतको समर्थनको नाममा यस अगाडि यातायात व्यवसायी र निर्माण व्यवसायीहरुलाई भने पेलेर छोडेको थियो ।

गैरसरकारी संस्थाहरुलाई नियन्त्रण गर्ने सरकारी प्रयास भने विवादमा परेको छ ।

Share Now

Leave a comment.