
काडमाडौं, २३ असार । नेपालले अधिकांश विद्युत खरिद गर्ने भारतको बिहार राज्यले विद्युतको मूल्य बढाउन गरेको प्रस्ताव आफूहरूले अस्वीकार गरेको विद्युत प्राधिकरणका अधिकारीहरूले बताएका छन्।
शुक्रवार भारतमा सम्पन्न दुईपक्षीय बैठकमा बिहारबाट खरिद हुँदै आएको विद्युतमा १५ देखि २० प्रतिशत मूल्यवृद्धिको प्रस्ताव भारतीय पक्षले गरेको थियो।
मूल्यमा सहमति जुट्न नसकेका कारण तत्काल विद्युत कटौती नगरीकनै अर्को बैठकमा समाधान खोज्ने सहमति भएको बताइएको छ।
असहमति
नेपालले भारतबाट खरिद गर्दै आएको करिब ४ सय ५० मेगावाट सम्मको विद्युत मध्ये ३ सय मेगावाट सम्म बिहारबाट खरिद गर्दै आएको छ।
१३२ केभिए क्षमताको प्रशारण लाइन मार्फत खरिद गर्ने विद्युतको मूल्य ५ रुपैया ५५ पैसा भारु र ३३ केभिए क्षमताको प्रशारण लाइनबाट खरिद भएको विद्युतको मूल्य ६ रुपैंया भारु रहेको छ।
जुन मूल्य पहिले नै बढी भएको भन्दै नेपालपक्षले त्यसलाई घटाउन माग गरिरहेका बेला भारतीयपक्षले मूल्य वृद्धिको प्रस्ताव गरेको र आफूहरु त्यसमा सहमत नभएको विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए।
उनले भने, “बिहारले मूल्य बढाउन गरेको प्रस्तावमा १ पैसा पनि मूल्य बढाउने अवस्था छैन भनेर नेपालीपक्षले अस्वीकार गर्यो। त्यहाँ मूल्य बढेको भन्दै हामीलाई दिने विद्युतमा मूल्य बढाउने प्रयास गरिएको हुनाले हामीले सहमति जनाउन सकेनौं।”
अर्को बैठक
नेपालले खरिद गर्दै आएको विद्युतको मूल्य प्रत्येक वर्ष स्वत: साढे ५ प्रतिशतको दरले बढ्ने पहिलेको सहमति गत वर्ष मात्रै नेपालको आग्रहमा सच्च्याइएको थियो।
विद्युतको मूल्यमा देखिएको फरक फरक प्रस्तावको समाधानका लागि छिट्टै अर्को बैठक हुने प्रवक्ता अधिकारीले बताए।
उनले भने, “अरु ग्राहकको जस्तै मूल्यमा नमिल्ने बित्तिकै लाइन काटिने अवस्था नहुने भएकाले यसमा थप छलफलको आवश्यक्ता देखिएको छ। त्यसैले विद्युत आदान प्रदान समितिको बैठक पुन: ३ महिनाभित्र गर्ने कुरा भएको छ।”
गत वर्षको ११ महिनामा नेपालले भारतबाट १३ अर्ब रुपैंया बराबरको विद्युत खरिद गरेको र हालकै मूल्यमा विद्युत दिन भारत तयार नभएमा डेढ अर्ब बराबरको थप भार विद्युत प्राधिकरणलाई पर्न सक्ने बताइएको छ।
नेपालले भारतको बिहार प्रदेश बाहेक भारतका अन्य विभिन्न उर्जा व्यापार गर्ने ट्रेडिङ कम्पनीहरूबाट ढल्केबर-मुजफ्फरपुर प्रशारण लाइनमार्फत १ सय २० मेगावाट र टनकपुरबाट ३० मेगावाट जति खरिद गर्दै आएको छ।
यसका अतिरिक्त उत्तर प्रदेशबाट १० मेगावाट र उत्तराखण्डबाट १ मेगावाट जति विद्युत खरिद गर्ने गरिएको बताइएको छ। नेपालमा हुने विद्युतको उत्पादन बढदो क्रममा रहेकाले भारतबाट खरिद गरिँदै आएको विद्युतको परिमाण आगामी वर्षमा घट्ने अधिकारीहरुको भनाइ छ
बीबीसीबाट