
मस्कट (ओमान), ४ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् (युएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो ।
भेटका क्रममा उहाँहरुका बीचमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्युनिकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो ।
मन्त्री डा देउवाले सो अवसरमा नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत् संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री सायेघले युएइको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।